को-अपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा ढकाल, सर्वसम्मत चुनियो नयाँ कार्यसमिति

आर्थिक आवाज
पोखरा, १२ असोज । को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा मीलन ढकाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ढकाल पोखरा रोयल सहकारीका मुख्य प्रबन्धक हुन् ।

उपाध्यक्षमा डम्बर सिंह बस्नेत (गौरी शंकर सहकारी), सचिवमा अपिल कोइराला (संगम सहकारी), सहसचिवमा बोधराज रेग्मी (दर्पण सहकारी), कोषाध्यक्षमा पशुपति अधिकारी (सहयात्री सहकारी) निर्वाचित भए ।

सदस्यहरुमा सन्तोष त्रिपाठी (नयन सहकारी), सरोज कुवँर (क्षेत्रशक्ति सहकारी), कमल सुवेदी (सरल नमुना सहकारी), हरिप्रसाद पन्थी (पिपुल्स सहकारी), निरु थापा (प्राइम सहकारी) र पबित्रा बराल (नवसाथी सहकारी) छन् ।

MANASLU

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङले क्लबलाई नेफ्सकुनको तर्फबाट प्राविधिक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । ‘सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता, सहकारी संस्थामा एकरुपता’ मूल उद्देश्यका साथ २०७३ चैतमा क्लब स्थापना भएको हो । २०७५ साउनमा दर्ता गरी क्लबले कानुनी मान्यता प्राप्त गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

स्थापनादेखि नै संयोजक भएर ढकालले क्लबको नेतृत्व गरेका थिए । सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुन एकत्रित भएको ढकालले बताए । आगामी दिनमा सहकारी सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।

क्लबको प्रतिवेदन डम्बर सिंह बस्नेतले पेश गरेका थिए । निर्वाचन संयोजक कमलमोहन आचार्यले निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए भने बोधराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.