क्यान इन्फोटेकको आज समापन, ‘भर्चुअल रियालिटी’ले दर्शक आकर्षित

पोखरा, ८ फागुन । क्यान कास्कीले आयोजना गरेको नवौं क्यान इन्फोटेक आज समापन हुँदैछ । गत शुक्रबार सुरु इन्फोटेकको आज समापन गरिने क्यान कास्कीका सचिव विकास भुर्तेलले जानकारी दिए । सूचना तथा प्रविधिका नविनतम प्रविधिहरु प्रदर्शनीमा राखिएकाले इन्फोटेकको अवलोकन गरेर प्रविधिबारे ज्ञान हाँसिल गर्न आयोजकको आग्रह गरेका छन् ।

यसैबीच इन्फोटेकमा ‘भर्चुअल रियालिटी’ प्रविधि प्रदर्शनीमा राखिएको छ । पोखराको न्युरोडमा रहेको कस्मिक कम्प्लिट सोलुसनले एमएसआई ब्राण्डको उक्त प्रविधिलाई इन्फोटेकमा प्रदर्शनीमा राखेपछि अवलोकनकर्ताको आकर्षण देखिएको छ । ‘इन्फोटेकमा पुग्ने प्रायको प्रमुख आकर्षण नै भर्चुअल रियालिटी प्रविधि बनेको छ,’ कस्मिकका सञ्चालक पुरुशोत्तम कुँवरले भने, ‘छोटो भर्जुअल रियालिटी फिल्म हेर्न कस्मिकको स्टलमा लाइन लाग्ने गरेको छ ।’

उक्त प्रविधिले जुन भिडियो हे¥यो त्यही ठाउँमा आफू भएको अनुभव हुन्छ । एमएसआई ब्राण्डको भर्चुअल रियालिटी सपोर्ट गर्ने डेक्टडप तथा ल्यापटप प्रदर्शनीले इन्फोटेकमा आकर्षण बढाएको उनले बताए । भर्चुअल रियालिटी प्रविधिका साथै हाइ रेन्जको कम्प्युटर तथा ल्यापटप, क्यास्परस्की एन्टी भाइरस, विश्वप्रशिद्ध ब्राण्ड हनिवेलका मल्टिप्लक, एचडिएम केबुल लगायतका कम्प्युटर एसोसरिजहरु कस्मिकले बिक्री तथा प्रदर्शनमा राखेको कुँवरले बताए ।

इन्जिनियरिङ कलेजको ‘इब्लड सिस्टम’ र रोबर्ट
इन्फोटकमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले बनाएको ‘इब्लड सिस्टम’ प्रदर्शनी गरेका छन् । उक्त प्रविधिबाट अकस्मात रुपमा रगत चाहिएको अवस्थामा आफ्नै मोबाइलमा सुरक्षित भएका नम्बरहरुबाट डाटा हेरेर सम्पर्क गर्न सकिने क्याम्पसका मुख्य प्राविधिक सहायक दीपकराज गिरी जानकारी दिए । सामान ओसार्न सक्ने रोबर्ट पनि प्रदर्शनीमा राखिएको उनले बताए ।

इन्फोटेकमा ब्ल्याक बक्स क्यामरा समेत सस्तो मूल्यमा बिक्री भइरहेको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । जहाजमा ब्ल्याक बक्स क्यामरा जडान गरेजस्तै बस तथा अन्य सवारीमा जडान गर्न मिल्ने उक्त क्यामरा निकै उपयोगी हुने उनले बताए ।

You might also like

Comments are closed.