‘क्यान इन्फोटेकको महत्व बढेको छ’ (अन्तर्वार्ता)

विकास भुर्तेल
सचिव
क्यान महासंघ, कास्की

क्यान महासंघ कास्कीको आयोजनामा दसौं संस्करणको इन्फोटेक हुँदैछ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन १८ देखि २४ गतेसम्म सञ्चालन हुने इन्फोटेकसँग केन्द्रित रहेर क्यान महासंघ कास्कीका सचिव तथा क्यान महासंघ गण्डकी प्रदेशका सदस्य विकास भुर्तेलसँग गरिएको कुराकानी :

क्यान कास्कीले वर्षेनी इन्फोटेक आयोजना गर्नुको उद्देश्य के हो ?
सूचना तथा प्रविधिका क्षेत्रमा वर्षेनी नयाँ नयाँ प्रडक्टहरु बजारमा आइरहेका छन् । सूचना तथा प्रविधिका क्षेत्रमा नेपालमा भित्रिएका नवीनतम प्रविधिहरुका बारेमा आम जनमानसलाई जानकारी गराउने मुख्य उद्देश्य अनुसार नैै हामीले वर्षेनी इन्फोटेक आयोजना गर्दै आइरहेका छौं । हामीले यस पटक १०औं संस्करणको इन्फोटेक आयोजना गर्दैछौं । सूचना तथा प्रविधिका वृहत्तर मेला पनि इन्फोटेक हो, जहाँ आइसिटी क्षेत्रका हरेक प्रकारका उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरण गरिन्छ ।

क्यान कास्कीले आयोजना गरेको इन्फोटेकका आकर्षणहरु के–के छन् ?
इन्फोटेकलाई समयानुकुल बनाउने प्रयास गरेका छौं । हिजो र आजको प्रविधि फरक छ । हामीले इन्फोटेकलाई जतिसक्दो प्रविधिमैत्री बनाउँदै छौं । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नविनतम प्रविधिको प्रदर्शनी नै इन्फोटेकको मुख्य आकर्षण हो । बिक्रीलाई भन्दा पनि प्रविधिबारेमा आम मानिसमा चासो जगाउन हामी सफल हुनेछौं । सूचना तथा प्रविधिको बृहद प्रदर्शनी, विभिन्न आइटी कलेजबाट उत्पादित वैज्ञानिक उपकरणहरुको प्रदर्शनी, शैक्षिक परामर्शदातृ संस्थाहरुको उपस्थिति पनि इन्फोटेकको आकर्षण बन्नेछ । प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, कलेजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रोबर्ट प्रदर्शनी, निःशुल्क कम्प्युटर मर्मत लगायतका सेवा आकर्षण बन्नेछ ।

इन्फोटेकको तयारी कस्तो छ ?
फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक हुँदैछ । यस पटक सिटी रेवानले आयोजना गरेको सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनिसँगै हुनेछ । दुवैवटा संस्थाले तयारीलाई तिब्र बनाइरहेका छौं । इन्फोटेकको मिति नजिकिएको छ । हामी बाहिरी तयारीलाई तिब्र बनाइरहेका छौं । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठित विभिन्न २७ वटा उपसमितिले आआफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेका छन् । प्रचारप्रसारलाई पनि व्यवस्थित गरेका छौं ।

दसौं संस्करणको इन्फोटेक हुँदैछ । बिगतको अनुभव अनुसार इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण कस्तो छ ?
मोफसलमा रहेर पनि हामीले वर्षेनी निरन्तर इन्फोटेक आयोजना गर्न सफल छौं । पोखरा अब मोफसल भन्दा पनि गण्डकी प्रदेशको केन्द्र बनिसकेको छ । आगामी वर्षमा इन्फोटेकको महत्व अझै बढ्नेमा हामी ढुक्क छौं । बिगतका वर्षहरुमा आयोजना भएका इन्फोटेकको सफलताले नै हामीलाई अगाडि बढ्न प्रोत्साहन गरेको हो । हाम्रा अग्रजहरुले सुरु गरेको यो इन्फोटेक सूचना तथा प्रविधिका क्षेत्रमा ब्राण्ड बनिसकेको छ । हाम्रो लक्षित समूहको उपस्थिति इन्फोटेकमा वर्षेनी बढिरहेको पाएका छौं । बिगतका वर्षहरुमा भन्दा यसपटक अझ बढी उत्साहजनक उपस्थिति रहनेमा हामी विश्वस्त छौं । बिगतमा ४ दिनसम्म चल्ने इन्फोटेक यस वर्ष ७ दिनसम्म गर्दैछौं ।

खर्चलाई कसरी व्यवस्थित गर्नुभएको छ ?
यो इन्फोटेक सानो प्रयासले सफल भएको होइन । यसमा धेरैको योगदान छ । बिगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि हामीलाई प्रायोजन गर्ने कम्पनी तथा ब्राण्डहरुको आकर्षण बढिरहेको छ । हामीले इन्फोटेकबाट प्राप्त गरेको सफलता र विश्वासले गर्दा नै हामीलाई प्रायोजकहरुको महत्वपूर्ण साथ छ । प्रायोजक, स्टल बिक्री, ब्यानर प्रायोजन लगायतका स्रोतबाट इन्फोटेक सफल पार्दै आइरहेका छौं । इन्फोटेकबाट बचत रकमलाई क्यान कास्कीको प्रशासनिक र अन्य सामाजिक काममा खर्च गर्दै आइरहेका छौं ।

You might also like

Comments are closed.