क्रियाशिलता र जनचेतनाको अभावमा आयुर्वेदिक उपचार ओझेलमा प¥योः पुन

पोखरा, ३२ जेठ

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले आयुर्वेदिक उपचारबारे जनतालाई बुझाउनका लागि अभियान चलाउन सुझाव दिएकी छन् । नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ कास्कीको प्रथम साधारणसभा तथा अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले आयुर्वेदिक उपचारबाटपनि उपचार सम्भव छ र यो सबैभन्दा उत्तम उपचार हो भनेर जनतालाई बुझाउनका लागि अभियान सञ्चालन गर्न आयुर्वेदिक औषधी व्यवसायीहरुलाई आग्रह गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले क्रियाशिलता र जनचेतनाको अभावमा आयुर्वेदिक उपचार ओझेलमा परेको बताईन् । उनले विद्यालय स्तरको पाठ्यक्रममा जडीबुटी सम्बन्धी पाठ राख्न जरुरी रहेको र यसका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिइन् । भारतलाई ईंगित गर्दै उनले दक्षिणबाट आएको प्याकेटको मूल्य गुणन गर्दै औषधी बेचिरहने हो भने देश समृद्ध बन्न नसक्ने भन्दै स्वदेशमै उत्पादन गर्न आग्रहसमेत गरिन् । उनले औषधी उत्पादनमा लाग्नेलाई गण्डकी प्रदेशले सहयोग गर्ने आश्वासनसमेत दिईन् ।

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामचन्द्र बुढाथोकीले स्वदेशको कच्चा पदार्थ कौडीको मूल्यमा भारत निर्यात भइरहेको भन्दै यहाँको कच्चा पदार्थ यहिं प्रयोग गरेर औषधी उत्पादन गर्नसके आयात प्रतिस्थापन हुने भन्दै यसले समृद्धिमा पनि सघाउने धारणा व्यक्त गरे ।

पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले राज्यले लगानीको वातावरण मात्र बनाइदिए व्यवसायीहरु लगानी गर्न तयार भएको बताए ।

गण्डकी आयुर्वेद अस्पताल पोखराका प्रमुख डा.ओम कोलोनीले औषधीमा गुणस्तर कायम गर्नुपर्ने भन्दै त्यसका लागि नियमन जरुरी रहेको औंल्याए । उनले नेपालमा वार्षिक रुपमा ७ अर्बको आयुर्वेदिक औषधी खपत हुँदा स्वेदशी उत्पादन डेढ अर्बको मात्रै हुनु दुःखद भएकाले उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष महेन्द्रराज उपाध्यायले माग अनुसार नेपालमै उत्पादन गर्न सकिने भन्दै विदेशी भन्दा स्वदेशी औषधी बेचिदिन व्यवसायीहरुलाई आग्रह गरे ।

अधिकारी अध्यक्षमा चयन

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ कास्कीको प्रथम साधारणसभा तथा अधिवेशनले पवन अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा विष्णा शर्मा चापागाईं, सचिवमा राजु पौडेल, सहसचिवमा पुष्पराज पौडेल र कोषाध्यक्षमा विष्णुप्रसाद बस्याललाई चयन गरेको नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ गण्डकी प्रदेश संयोजक कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा राजेन्द्र अधिकारी, निर्वाचनकुमार श्रेष्ठ, निरा राना र रमेश चापागाईलाई चयन गरेको उनले बताए ।

You might also like

Comments are closed.