क्षत्री समाजको राष्ट्रिय महाधिवेशन पोखरामा हुने

पोखरा, १ माघ
क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत्र २३ र २४ गते पोखरामा गरिने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता सहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्थालाई कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक रहने केन्द्रीय सचिव कृष्ण थापाले बताए ।

महाधिवेशनलाई वृहत सहभागिता सहित समाजले लिएको माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने भएको छ । समाजको ६२ जिल्लामा कार्यसमिति र भातृ समाजको सकृयता रहेको छ । केन्द्रीय विस्तारित बैठकले महासचिव रोम बहादुर कार्की, कोषाध्यक्ष रिब बहादुर थापाद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको छ ।

समाजले फागुन मसान्तभित्र सम्पुर्ण जिल्ला कार्यसमिति, भातृ समाजहरुबाट महाधिवेशन प्रतिनिधि चयन गरिने, सोको व्यवस्थापन सचिवालय मार्फत कार्यान्वयन गरिने भएकोे छ । बैठकलाई सम्वोधन गर्दै पूर्व केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले क्षत्रीहरुको माग मुद्दा सम्वोधनका लागि तथा राष्ट्रिय अखण्डताका लागि समाज सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताए ।

बैठकमा जिल्लागत रुपमा कार्यप्रगति सहित सुझाव पेश गरिएको थियो । केन्द्रीय उपाध्यक्ष योगेन्द्र बहादुर कार्की, तनहुँका अध्यक्ष क्या.भरत बहादुर अधिकारीले केन्द्रले सम्पूर्ण जिल्लालाई कार्यक्रम सहित सहभागिता बढाउनुपर्ने बताए । बैठकले फागुन मसान्तभित्र बाँकी रहेका सम्पुर्ण जिल्ला मातहतका समाज, भातृ समाजको अधिवेशन गराउने निर्णय गरिएको सचिव शंकर बहादुर केसीले बताए ।

You might also like

Comments are closed.