क्षेत्रीय होटल संघ तनहुँको १४ औँ साधारण सभा सम्पन्न

मंसिर १२,तनहुुँ
“गुणस्तरीय सेवा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ क्षेत्रीय होटल संघ तनहुँको १४ औँ साधारणसभा बुधवार बन्दिपुर–५ ढाब स्थित मस्र्याङ्दी रिभरब्यु रिसोर्टमा सम्पन्न भएको छ । होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले उद्धघाटन गर्दै होटल व्यवसाय पर्यटन क्षेत्रसँगै सम्बन्धित भएकाले तनहुँको पर्यटन प्रवद्र्धन गरी धेरैभन्दा धेरै पर्यटकहरूको आगमन वातावरण सिर्जना गनुपर्ने बताए । तनहुँमा पर्यटकहरुलाई आकर्षित गर्ने खालका होटलको अभाव भएकाले भएका होटलहरुको क्षमता र गुणस्तर वृद्धि गर्नुका साथै नयाँ होटलहरू खोल्नुपर्ने शाक्यको भनाइ थियो । होटलको गुणस्तर अभिवृद्धिका लागी आवश्यक तालिम पूर्वाधार विकासका लागी होटल संघ सधैं प्रतिवद्धता रहेको शाक्यले बताए ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पर्यटकहरूलाई स्तरीय सेवा सुविधा उपलब्ध गराई सन्तुष्ट बनाउन सकियो भने तनहुँको राम्रो छवी बनाउन सकिने बताए । तनहुँका होटल व्यवसायलाई अझै व्यवस्थित र मर्यादित बनाउन उनले व्यवसायीहरुलाई आग्रह गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले सरकारले तोकेका मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गरे जिल्ला प्रहरी कार्यालय व्यवसायीसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताए ।
क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन बोर्ड पोखराका अध्यक्ष सुर्यप्रसाद थपालिया खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजी बराल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष गणेशकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघ दमौली बजार इकाइका अध्यक्ष चन्द्रकुमार कायस्थ, आबुँखरैनी इकाइका सभापति रामशरण कोइराला लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव विकास खनाल र कोषाध्यक्ष बेनीबहादुर थापाले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

 

You might also like

Comments are closed.