क्होंलासोंथर मक्का मदिना र मुक्तिनाथ भन्दापनि पवित्र भूमि हो : सांसद अधिकारी

आर्थिक आवाज

पोखरा, १ फागुन । पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले गुरुङहरुको उद्गम थलो क्होंलासोंथर मुस्लिमहरुको मक्का मदिना जस्तै र बुद्धिष्ट र हिन्दुहरुको साझा मन्दिर मुक्तिनाथ भन्दापनि पवित्र भूमि रहेको बताएका छन् । गुरुङहरुको उद्गम थलो क्होलासोंथर पुग्ने बाटोको बुधबार शिलान्यास गर्दै उनले गुरुङहरुको थातथलो ऐतिहासिक, पूरातात्विक सबै हिसाबले महत्वपूर्ण र पवित्र रहेको बताएका हुन् । उनले थातथलो जोगाउनु सबैको दायित्व भएको बताउँदै भने,‘थातथलो जोगाउनु सबैको जिम्मेवारी हो, यो गुरुङहरुको मात्रै होइन, यो जोगाउने जिम्मा हाम्रो पनि हो ।’ उनले गुरुङहरुको भाषा, संस्कार र संस्कृति बिना नेपाल अपाङ्ग हुने बताए ।

सांसद अधिकारीले गुरुङहरुको उद्गम विन्दु क्होंलासोंथर जाने बाटो जति खर्च लागेपनि निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारसँग कुरा गरेर बजेट पारिदिने उनले आश्वासन दिए । तर उनले बाटो निर्माणको नाममा क्होंलासोंथरको ऐतिहासिकता, भर्जिनिटी नतोड्न सचेत गराए । क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा राख्न सकिने भन्दै त्यसका लागि पहलकदमी लिने उनले बचन दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले बाटो निर्माणको काम संस्कृति जोगाउने अभियान पनि भएको बताए ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले क्होंलासोंथर गुरुङ जातिको मात्र नभई समग्र नेपालकै इतिहास बोकेको ठाउँ भएकाले यसको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा गाउँपालिका लागिपरेको बताए । उनले क्होंलासोंथरलाई गुरुङ जातिको अध्ययन स्थल, पर्यटकीय हिसाबले घुम्ने स्थल बनाउने योजना रहेको जानकारी गराए ।

गुरुङहरुको उद्गम थलो क्होलासोंथर पुग्ने बाटोको शिलान्यास गरिएको हो । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानिय साझेदारी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छुट्याएको ७० लाखको लागतमा कास्कीको मादी गाउँपालिकामा पर्ने गुरुङहरुको उद्गम थलो क्होंलासोंथर पुग्ने बाटो निर्माण गरिन लागेको हो । ताङतिङदेखी क्होंलासोंथरसम्म निर्माण गरिने बाटोको बुधबार पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले शिलान्यास गरेका हुन् ।

You might also like

Comments are closed.