खगेन्द्रले जिते ४४ किलोमिटर अल्ट्रा म्याराथन

आर्थिक आवाज
तनहुँ, माघ १६
व्यास नगरपालिकाले बुधबार सहिद दिवसको अवसरमा आयोजना गरेको ‘दोस्रो व्यास अल्ट्रा म्याराथनमा खगेन्द्र बहादुर रानाभाट प्रथम हुन सफल भएका छन् ।डोटी घर भएका त्रिभुवन आर्मी क्लबका रानाभाटले २ घण्टा ५३ मिनेटमा ४४ किलोमिटरको दुरी पार गरी प्रथम हुन सफल भएका हुन् ।

सोही जिल्लाका त्रिभुवन आर्मी क्लबकै नवराज साउद ३ घण्टा २ मिनेटमा निर्धारित दुरी पार गरी द्वितीय भए भने पाँचथरका भूमिराज राईले ३ घण्टा १४ मिनेटमा उक्त दूरी पार गर्दै तृतीय भए । त्यस्तै प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा, रामेछापका किरणसिं बोगटी , व्यास–६ का सुरेन्द्र चापागाईँ, व्यास–६ कै विशाल गुरुङ र सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ८०, ६० र ५० हजार रुपैयाँ प्राप्त गरेका छन । त्यस्तै सान्त्वना हुने पाँच जनाले जनही रु १५ हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित व्यास ५ मानहुँकोटदेखी सुरु भएको दौड व्यास ८ स्थित पुलिमराङ सहिद पार्कमा आएर टुंगिएको थियो ।
प्रतियोगितामा १९ जिल्लाका १६ वर्षदेखि ५९ वर्ष उमेर समूहका ८७ जना धावकहरुले प्रतियोगितामा सहभागिता लिएको कार्यपालिका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दौड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पूर्व सभामुख नेता रामचन्द्र पौडेलले पर्यटन र खेलकुदले राज्यलाई गौरवान्वित बनाएको बताए । नगरपालिकाले आयोजना गरेको म्याराथनले पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ थियो ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाका सांसद डोबोटे वि.क., सांसद सरिता गुरुङ, संविधान सभाका सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नेकपाका केन्द्रीय सदस्य प्रताप लाल श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, पूर्व धावक रमेश भट्टचन, शहिद लालध्वजका छोरा चन्द्रध्वज गुरुङ, शहिद भारत गुरुङकी नातिनी खेममाया गुरुङ लगायतले बोलेका थिए ।

यसै अवसरमा नेपालका कीर्तिमानी धावकका रुपमा स्थापित वैकुण्ठ मानन्धर र ख्याति प्राप्त धावक कान्छीमाया कोजुलाई दोसल्ला ओढाई कदरपत्रका साथ सम्मान गरिएको छ ।  नगरप्रमुख न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले वार्षिक रुपमा अल्ट्रा म्याराथन आयोजना गर्ने बताए ।

You might also like

Comments are closed.