खानाका पारखीलाई लक्षित गरी लेकसाइडमा खुल्यो फ्रेस एलिमेन्ट्स रेस्टुरेन्ट

सुरेन्द्र पौडेल
पोखरा, ३ फागुन । अर्गानिक र स्वस्थ खानाका परिकारलाई लक्षित गरी पोखराको लेकसाइडस्थित सेन्टरपोइन्टमा सुविधा सम्पन्न रेन्टुरेन्ट सञ्चालनमा आएको छ । पोखरामा बिगत ८ वर्षदेखि होटल मिडल पाथ सञ्चालन गरिरहेका युवा व्यवसायी अशोक कार्कीले खानाका पारखी आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी फ्रेस एलिमेन्ट्स रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

रेस्टुरेन्टको साथमा स्पा समेत सञ्चालनमा आएको कार्कीले जानकारी दिए । करिब ३ करोड ५० लाख रुपैयाँ लगानीमा रेस्टुरेन्ट सञ्चालनमा आएको उनले बताए । नेपाली, चाइनिज, कन्टिनेन्टल तथा अर्डर अनुसारको खाना तथा खाजाका लागि रेस्टुरेन्ट उत्कृष्ट गन्तव्य बनेको कार्की बताउँछन् । ‘पोखरामा आउने उत्कृष्ट क्वालिटीका पर्यटकलाई लक्षित गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हुँ,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकका साथै पोखरेलीहरुको पनि रोजाईमा रेस्टुरेन्ट परेको छ ।’

लाभा ग्रिल रेस्टुरेन्टको विशेष परिकार हो । हेल्दी स्लाद, फ्रेस खाना पनि ग्राहकको रोजाईमा परेको कार्कीले बताए । रेस्टुरेन्टमा २ सय ५० रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्मका मेनु समावेश छ । ‘पूर्ण पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गर्न हामी सफल छौं,’ उनले भने ।

रेस्टुरेन्टसँगै सञ्चालनमा आएको स्पामा साउना, व्युटिपार्लर, मसाज, अकुपञ्चर लगायतका सेवा उपलब्ध छन् । १ सय जना भन्दा बढीको क्षमता रहेको रेस्टुरेन्टमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । स्पामा ७ जना कर्मचारी छन् । कार्कीले नै सञ्चालन गरिरहेको होटल मिडल पाथमा २२ वटा स्तरीय कोठा छन् ।

आवश्यकता अनुसार पर्यटन क्षेत्रमा लगानी बिस्तार गरी अगाडि बढ्ने कार्कीको लक्ष्य छ । ‘नेपालको पर्यटन क्षेत्रमा अझै लगानी बढाउन आवश्यक छ,’ उनले भने, ‘देशको आर्थिक समृद्धिका लागि पर्यटनमा लगानी बढाउन सरकारले पनि लगानीमैत्री वातावरण बनाउनुपर्छ ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.