खुट्टा गुमाएका शिवका सारथीहरु

सुरेन्द्र पौडेल
पोखरा । बाबा बेपत्ता । आमाको साथ र मामाको घर उनको सहारा । कास्कीको मट्टीखान निवासी शिव भुजेल मात्र २५ वर्ष उमेर ।

उनै शिव आजभन्दा ५ वर्ष अगाडि बस दुर्घटनामा परे । दुर्घटनाका क्रममा खुट्टामा सामान्य चोट लाग्यो । जुन बेला उनी गाडीमा सहयोगीको काम गर्थे । सामान्य घाउ बिग्रने क्रममा आफ्नो खुट्टा नै काट्नुपर्ने अवस्था आउँछ भन्ने न उनले सोचे र अभिभावकले नै ।

तर, विडम्बना यस्तै भयो । एउटा खुट्टा नै गुमाउन पुगे शिव । वैशाखीको सहारामा संघर्षशील पाइला चालिरहेका शिवका लागि जीविकोपार्जन गर्न यतिबेला सहयोग संकलन अभियानलाई तिब्र बनाइएको छ ।

शिवको आर्थिक अवस्था दयनीय भएकाले सहयोग संकलन भइरहेको मट्टीखानका पर्यटन व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । ‘सहयोग आउने क्रम जारी छ,’ उनले भने, ‘अहिलेसम्म ११ लाख रुपैयाँ संकलन भइसकेको छ ।’ संकलन भएको रकमलाई उनको जीवननिर्वाहका लागि हस्तान्तरण गरिने पोखरेलले जानकारी दिए ।

सहयोगबाटै संकलन भएको २ लाख ५० हजार रुपैयाँको लागतमा शिवका लागि घरसमेत बनिसकेको छ । अझै केही रकम संकलन गरी शिवको थप उपचार र जीवन निर्वाहका लागि सहयोग गरिने अभियानमा आफूहरु रहेको पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

खुट्टा उपलब्ध गराइने

एक खुट्टा गुमाएका शिवको अर्को खुट्टाको पैतालाको केही भाग पनि काटिएको छ । शिवको हिड्डुलका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले कृत्रिम खुट्टा राखिने भएको छ ।

शिवको कृत्रिम खुट्टा राख्न लायन्स क्लब अफ पोखरा अन्नपूर्णले सहकार्य गर्न लागेको क्लबका निबर्तमान अध्यक्षसमेत रहेका पोखरेलले जानकारी दिए । ‘कृत्रिम खुट्टा राखेपछि शिवलाई हिड्नका लागि केही सहज हुनेछ,’ उनले भने ।

रकम सहयोग

मट्टीखान निवासी शिवका लागि सहयोग आउनेक्रम जारी छ । यसैक्रममा लायन्सका लिडरहरु तथा क्लब अध्यक्षहरुले सहयोग गरेका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतका रिजन चियर पर्सन शिवराज आचार्य, जोन चियरपर्सन पुजन शाक्य, रवीन्द्र श्रेस्ठ, लायन्स क्लबका अध्यक्षहरु मोना थापा, घनश्याम शर्मा, पवित्रा न्यौपाने, राम कुमार श्रेष्ठ, खिमा कुमारी गुरुङ, शान्तादेवी थापा भण्डारी, निता बुद्धचार्य, लता कुँवर लगायतले शिवलाई आर्थिक सहयोग गरेका छन् । शिवकै निवासमा पुगेर उनीहरुले संयुक्त रुपमा १ लाख २ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

You might also like

Comments are closed.