आर्थिक आवाज
तनहुँ, २५ पुस । तनहुँको खैरेनीटारमा बिहीबारदेखि हुने पहिलो आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले आयोजना गरेको महोत्सवको तयारी पुरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक बिमल जिसी (भुजेल)ले जानकारी दिए । उनका अनुसार महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आदिवासी जनजातिको सांस्कृतिक पहिचान कायम राख्दै नयाँ पुस्तामा हस्तान्तरणको लक्ष्य सहित शुक्लागण्डकी क्षेत्रका ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय स्थान ढोरबाराही मन्दिर, तीनखोलेदेवी, भुलभुले बाराही, मिलेनियम ट्रेक, रक गार्डेनको प्रचारप्रसारसँगै प्रर्बद्धन समेतको उद्देश्य राखेर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा १ सय स्टल रहेको महोत्सवका प्रवक्ता मनबहादुर पुनले जानकारी दिए । आदिवासी जनजातिको खानाको परिकार, जातीय कला संस्कृतिको जानकारी, हस्तकला प्रर्दशनी, पुस्तक प्रर्दशनी, कृषि उत्पादनको प्रर्दशनी तथा बिक्री कक्ष लगायतका स्टल रहनेछ । यस्तै अटोमोबाईल्स, सुचना केन्द्र सेवामुलक संस्थाको प्रर्दशनी, सुचना प्रविधीको प्रर्दशनी तथा खरीद बिक्री लगायत समावेश गरिने पुनले बताए ।
महोत्सवमा आदिवासी जनजातिको परम्परागत घरको नमुना ग्राम निर्माण गरिएको छ । नमुना आदिवासी जनजाति ग्राममा मगर, गुरुङ, कुमाल, नेवार, भुजेल र तामाङ जातीको घर रहेको छ । यो महोत्सवमा लोप हुने अवस्थामा पुगेका आठ पिर्के रोहोटे पिङ र लिंगे पिङलाई समेत स्थान दिएको छ । महोत्सव ३ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको कारोबार हुने आयोजकले अनुमान गरेको छ । “अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातीको पहिचान , संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव आगामी माघ ६ गतेसम्म चल्नेछ ।
Comments are closed.