गजेन्द्र भण्डारी पुरस्कारबाट पत्रकार ढकाल सम्मानित

पोखरा, ८ भदौ :  द हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिकका पोखरा समाचारदाता रुपनारायण ढकाल स्वर्गीय गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट शुक्रबार पोखरामा सम्मानित भएका छन् । स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीका परिवारजनद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । पोखरामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति गोविन्द आचार्यले पत्रकार ढकाललाई सो पुरस्कार अर्पण गरेका थिए । दुई दशक भन्दा लामो पत्रकारिता अनुभव सँगालेका ढकाल विगत १६ बर्षदेखि दी हिमालयन टाइम्समा आबद्ध छन् । उनी पोखराबाट अपडेट गरिने अंग्रेजी भाषाको समाचार साइट रिसेन्टफ्युजन डटकमका सम्पादक पनि हुन् ।

सिर्जनशिल तथा खोजी पत्रकारिताका माध्यमबाट समाजलाई सुशुचित गराउन योगदान पु¥याएको भन्दै ढकाललाई पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले कार्यक्रममा जानकारी दिए । पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिक र जनमत दैनिकबाट पत्रकारिता सुरु गरेका ढकालले यसअघि पोखरापत्र दैनिक, समाधान दैनिक, हिमदूत दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक र दक्षिण कोरियाको ओमाई न्यूज इन्टरनेश्नल नामक अन्तर्राष्ट्रिय अंग्रेजी समाचार साइटमा समेत समाचारदाताको रुपमा काम गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व पार्षद् र हाल साधारण सदस्य रहेका ढकाल स्वतन्त्र पत्रकार संघमा पनि आबद्ध छन् । पोखरा महानगरपालिका– ३२ सातमुहानेका स्थायी बासिन्दा ढकाल अर्थशास्त्रमा स्नातकोत्तर हुन् । ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी तालिमहरु पनि लिएका छन् । यसअघि उनी पोखरा उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सभापति आचार्यले पछिल्लो क्रममा सरकारद्वारा लागू गरिएका देवानी र फौजदारी संहिता तथा संसदमा दर्ता वैयक्तिक गोपनीयता सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रमा अंकुश लगाउन खोजेको भन्दै त्यसलाई सच्याउन सरकारसँग आग्रह गरे । सो अवसरमा अग्रज पत्रकारद्वय कृष्णप्रसाद वास्तोला र बद्रिविनोद प्रतीक तथा अन्य पत्रकारहरु रामकृष्ण ज्ञवाली, त्रिभुवन पौडेल, माधव बराल, घनश्याम पाण्डे, शिरोमणि बराल, स्वर्गीय पत्रकार भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी, गण्डकी प्रदेशकी सभासद मिना गुरुङ र नागरिक समाजका विष्णु बरालले पनि भनाई राखेका थिए । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रामप्रसाद तिमिल्सिनाले संचालन गरेका थिए ।

You might also like

Comments are closed.