गणतन्त्रको एक दशक : भ्रष्टाचार मौलायो, जनता निराश

सन्देश श्रेष्ठ
पोखरा, १५ जेठ । जनआन्दोलन र सशस्त्र संघर्षको संयुक्त बलबाट देशमा गणतन्त्र आयो । गणतन्त्र आएसँगै जनतामा उत्साह छायो । गणतन्त्र आएको खुशीयालीमा सरकारदेखि सर्वसाधारण सबैले हर्षोल्लासपूर्वक शुभकामना आदान प्रदान गरे, खुशीयाली साटे । गणतन्त्रको आगमनसँगै नेपाली जनताले विकास र समृद्धि आउने सपना साँचे । शासित जनताले आफूलाई शासक समान बाच्न पाउने ठाने । गरिबले धनी समान शीर उठाएर जिउन पाइन्छ भन्ने कल्पना गरे । देशले विकासको फड्को मार्छ, घर÷घरमा समृद्धि आउँछ भन्ने सपना देखे । देशमा भ्रष्टाचार निर्मुल हुन्छ र शान्ति, सुरक्षा र सुशासन कायम हुन्छ भन्ने आशा राखे । तर गणतन्त्र आएको एक दशकमा जनता निराश बन्न थालेको विश्लेषण हुन थालेको छ । गणतन्त्र आउँदा खुशीयाली मनाउने जनता अहिले खुइयः गर्दै ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्न थालेका छन् । विकास र समृद्धिको कल्पना गर्ने जनता अहिले भ्रष्टाचार बढेको देखेर दिक्क छन् । अनि सुशासन आएर अमनचयन हुने आशामा बसेका जनता अहिले विकृति र विसंगतिले झनै जरा गाडेपछि फेरि निराश हुन थालेका छन् ।

गणतन्त्र आएको एक दशकमा नेपाली जनताले फरक अनुभूति गर्न नसकेको पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक कपिलमणि दाहाल बताउँछन् । ‘राजतन्त्रात्मक संस्थाबाट शासित जनताले आफूलाई शासक समान देख्नका लागि लामो बलिदानी र आन्दोलनबाट गणतन्त्र ल्याएका हुन्,’ उनले भने, ‘तर यो एक दशकमा नेपाली जनताले सोंचेजस्तो अनुभूति गर्नै पाएनन् ।’ यसमा सहमति जनाउँछन् संस्कृतिकर्मी तथा साहित्यकार तीर्थ श्रेष्ठ । हिजो भन्दा आज झन् चाकडी र चाप्लुसी मौलाएको भन्दै उनले भने,‘हिजो एउटालाई ढोगे पुग्थ्यो, चाकडी र चाप्लुसी गरे पुग्थ्यो, तर आज दश जनालाई ढोग्नुपर्ने भएको छ, दश जनालाई चाकडी र चाप्लुसी गर्नुपर्ने भएको छ ।’

नागरिक समाजका अगुवा रामबहादुर पौडेल पनि गणतन्त्रपछि झनै लथालिंग हुँदा जनता निराश भएको बताउँछन् । उत्साहका साथ गणतन्त्र ल्याएका जनता अहिले कार्यान्वयनमा फरक देखिदा निराश बनेको उनको तर्क छ । गणतन्त्रले समृद्धि र सुशासन ल्याउँछ भनेको झन् विकृति, विसंगति, कुशासन र भ्रष्टाचार ल्याएको उनको आरोप छ । गणतन्त्र नेतामुखी भयो–उनले भने,‘गणतन्त्रले भ्रष्टाचार मौलायो, कुशासन निम्त्यायो, नव सम्भ्रान्तहरुको उदय भयो, राजनीतिलाई ब्यापार बनाइयो ।’

एक दशकलाई मूल्यांकन गरिहाल्ने बेला नभएपनि नयाँ पद्धति भएकाले अल्मलिएको हो कि भन्ने अनुमान गर्छन् प्राध्यापक दाहाल । अहिले नै गणतन्त्रबारे निश्कर्ष निकाल्नु हतार हुन्छ, त्यसैले अहिले पर्ख र हेरको अवस्था हो–उनले भने,‘यो पहिलो अभ्यास हो, नयाँ पद्धती भएकाले यसलाई अभ्यासका लागि, बुझ्नका लागि केहि समय लाग्न सक्छ ।’ तर संस्कृतिकर्मी तथा साहित्यकार श्रेष्ठ भने गणतन्त्रको कार्यान्वयनमा दलहरु खरो उत्रिन नसकेको टिप्पणी गर्छन् । पहिले बहुमत नहुँदा अस्थिरता थियो, जसका कारण जनआकांक्षा पूरा गर्न सकेनौं भन्ने बहाना थियो दलहरुसँग–उनले भने,‘तर अहिले स्थिर सरकार भएकाले त्यो छुट छैन दलहरुलाई ।’

गणतन्त्र आएको एक दशकमै गणतन्त्रप्रति जनतामा वितृष्णा छाएको राजनीतिक विश्लेषक विश्व सिग्देलले तर्क गरे । हाम्रोजस्तो सानो मुलुक, सानो भुगोल, सानो अर्थतन्त्र, सानो आर्थिक÷सामाजिक संरचनामा गणतन्त्र फलदायी हुन सकेन–उनले भने,‘त्यसैले राजनीतिक अधिकार नभएको आर्थिक, सामाजिक, सांस्कृतिक हैसियत भएको संवैधानिक राजसंस्था आवश्यक देखियो ।’ उनले देशको अखण्डता र देशलाई एकताको सुत्रमा बाँध्न त्यस्तो संस्था आवश्यक भएको जिकिर गरे । संस्कृतिकर्मी तथा साहित्यकार श्रेष्ठपनि जनताले वैकल्पिक शक्ति खोजिरहेको बताउँछन् । दलहरुको कृयाकलापप्रति जनताको ब्यापक असन्तुष्टी छ–उनले भने,‘जनताले विश्वासिलो वैकल्पिक शक्ति नभेट्टाएका मात्र हुन्, भेट्टाएभने फेरि अर्कै स्थिति आउन सक्छ ।’

हुकुमी शासनको अन्त्य, राज्यसत्तामा एकाधिकारको अन्त्य, राजसंस्थाको नाममा रहेको अकुत सम्पती देशको नाममा आउनु गणतन्त्रको उपलब्धी भएपनि त्यसमा टेकेर सुशासन, भ्रष्टाचारको अन्त्य, शान्ति सुरक्षा र अमनचयन कायम हुन नसक्नु नै गणतन्त्रप्रतिको वितृष्णाको कारण रहेको उनीहरुको बुझाई छ । त्यसैले दलहरुले जनताको असन्तुष्टीलाई बुझेर जनआकांक्षा अनुसार अघि बढ्न उनीहरुले सुझाव दिएका छन् । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ दलहरुले कार्यशैली फेर्नुपर्ने बताउँछन् । जनताले गणतन्त्र आइसकेपछि राज्यमाथिको मालिक्याईंको अनुभूति दिलाउन सक्नुपर्छ–उनले भने,‘अनिमात्र स्थायीत्व प्राप्त गर्छ ।’ नागरिक समाजका अगुवा रामबहादुर पौडेलपनि दलहरु सच्चिनुपर्ने बताउँछन् । भन्छन्, ‘नेताहरुले सोंच बदल्नुप¥यो, सच्चिनुप¥यो, दलको नेता होइन देशको नेता बन्नुप¥यो ।’ प्राध्यापक दाहालले पनि दलहरुले पाठ सिकेर अघि बढेमात्र गणतन्त्र दीगो हुने बताउँछन् । सुशासन कायम गर्न सरकार आफ्नो लक्ष्यमा दृढ हुनुप¥यो–उनले भने,‘विगतका कमीकमजोरी सुधारेर कार्यशैली सच्याउँदै जनआकांक्षा अनुसार काम गर्न सकेमात्र जनताले गणतन्त्रप्रति गर्व गर्छन्, नत्र झन् जटिल स्थिति सृजना हुन्छ ।’ बुद्धिजिवी सिग्देलले भने गणतन्त्रले उँभो लगाउलाजस्तो नलागेको बताउँछन् । नेपालीको सांस्कृतिक, सामाजिक र आर्थिक संरचना गणतन्त्र पचाउने (डाइजेस्ट) गर्ने खालको छैन–उनले भने,‘त्यसैले नेपालमा हाम्रै जमिन, हाम्रै संस्कृति र हाम्रै मुलुक सुहाउँदो नितान्त मौलिक राजनीतिक व्यवस्था आवश्यक छ ।’

You might also like

Comments are closed.