गण्डकी प्रदेशको बजेटः २ करोडप्रति सांसद नै बेखुशी

सन्देश श्रेष्ठ
पोखरा, ४ असार । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि छुट्याएको रकमप्रति सांसद नै बेखुशी भएका छन् । यसअघि प्रदेश सांसद रामजी बरालले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सांसदलाई बजेट दिन नहुने बताएका थिए । त्यतिबेला उनलाई अपवाद भनिएको थियो । तर नयाँशक्ति पार्टीबाट निर्वाचित सांसद हरिशरण आचार्य पनि यहि लाइनमा उभिएका छन् ।

गण्डकी प्रदेश सभामा गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङद्वारा प्रस्तुत बजेट सम्बन्धी बुधबारको छलफलमा भाग लिदै उनले प्रति सांसद २ करोडका दरले बजेट छुट्याएर सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदको मूल्य तोकेको टिप्पणी गरेका हुन् ।

बजेटमा ३६ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा प्रदेश निर्वाचन क्षेत्र कार्यक्रमका लागि ७२ करोड छुट्याइएको छ । यस हिसाबले प्रति निर्वाचन क्षेत्र २ करोड पर्ने भएकाले सांसदको मूल्य २ करोड तोकिएको उनको तर्क छ । तर सरकारले भने प्रत्यक्ष निर्वाचित सांसद मात्र नभई सम्बन्धित निर्वाचन क्षेत्रमा पर्ने समानुपातिक सांसदसहितका लागि बजेट छुट्याएको बजेट सार्वजनिक गर्दा नै स्पष्ट पारिसकेको छ ।

नयाँ शक्ति पार्टीबाट निर्वाचित सांसद आचार्यले म यस निर्वाचन क्षेत्र विकास कार्यक्रमको विपक्षमा छु भन्दै थपे, ‘यो कार्यक्रमले कोही कोही खुशी भए होलान्, तर सांसदको मूल्य तोकिने गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउनु दुःखद कुरा हो ।’ सांसदलाई खल्तीमा बजेट नभई योजना छनौट गर्न दिइनुपर्ने उनले तर्क गर्दै आएका छन् । सांसदलाई बजेट दिदा सुशासन कायम नहुने उनको भनाई छ ।

सांसद दीपक कोइरालाले बजेट समाजवादी अर्थतन्त्रलाई आधार बनाएर आएको बताए । उनले घाटा बजेट नै सहि तर प्रदेशलाई अगाडि बढाउन महत्वकांक्षी बजेट नै आवश्यक भएको भन्दै त्यसलाई आत्मसाथ गरेर बजेट आएकाले यो स्वागतयोग्य भएको बताए । सांसद मायानाथ अधिकारीले गण्डकी प्रदेशको बजेट लोक कल्याणकारी र जनमुखी भएको बताए ।

सांसद गायत्री गुरुङले देशको सबैभन्दा अब्बल प्रदेश बनाउनेगरी बजेट आएको बताइन् । यद्वपि, समृद्धिका लागि सुकुम्बासी समस्या समाधान गर्नुपर्ने बताउँदै बजेटमा यो विषय छुटेकाले थप्नुपर्नेमा जोड दिइन् ।

सांसद राजिव पहारीले बजेट केही महत्वकांक्षी भएपनि कर्मचारी समायोजन भएको, सरकारको प्रतिबद्धता र लोकसेवा आयोगपनि गठनको क्रममा रहेकाले कार्यान्वयनको आधार देखिएको बताए । उनले राम्रो बजेटलाई पनि विपक्षीले फरक देखिने नाममा पूर्वाग्रही ढंगले नकारात्मक टिप्पणी गरेको आरोप लगाए । सबै समेटिएको बजेटमा फेवातालका लागि ठोस योजना नभएकाले त्यसलाई समावेश गर्न उनले आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले पूर्वाधार केन्द्रित भएर बजेट आउनु बजेटको सकारात्मक पक्ष भएको बताए । यद्वपि, यो ब्यबस्थित रुपमा कार्यान्वयन गर्नु चुनौतिपूर्ण रहेको उनको भनाई छ । हिजो ऐन, कानून भएन, कर्मचारी आइपुगेन भन्ने बहाना छैन–उनले भने,‘तर अब त्योपनि रहेन ।’ बजेट सम्बन्धी छलफलमा हालसम्म ४१ जना सांसदले धारणा राखिसकेका छन् । संसदको अर्को बैठक विहीबार अपराह्न ३ बजे बोलाइएको छ ।

You might also like

Comments are closed.