‘गण्डकी प्रदेशको समृद्धि पर्यटनबाट’

पोखरा, २३ असार ।

पर्यटन क्षेत्रबाट गण्डकी प्रदेशको समृद्धि सम्भव भएको विज्ञहरुले बताएका छन् । बिहीबार पर्यटन पत्रकार मञ्च पोखराले आयोजना गरेको ‘गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविष्य’ विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोेड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गण्डकी प्रदेशको समृद्धिका लागि आफू निरन्तर लागिरहने बताए । ‘पर्यटन क्षेत्रको सुधारका लागि सरकारका तर्फबाट धेरै काम भएका छन्,’ उनले भने, ‘अबको एक वर्षमा पर्यटन क्षेत्रमा धेरै सुधारको अनुभूति हुनेछ ।’ निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधारको विकास गरिने अधिकारीले बताए ।

jutta mela

पूर्व पर्यटन सचिव किशोर थापाले कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशले पर्यटन क्षेत्रमा अथाह सम्भावना बोकेको बताए । धार्मिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनको प्रधानता रहेको बताउँदै थापाले प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण रहेको धारणा राखे । पर्यटनका लागि प्रशस्त गन्तव्यहरु रहेपनि उचित प्रचार प्रसार गर्न नसक्नु कमजोरी रहेको उनले बताए । ‘कतिपय स्थानमा सडक यातायातको अभाव छ,’ उनले भने, ‘पर्यटनका लागि आवश्यक जनशक्ति अपर्याप्त हुनुपनि समस्या हो ।’

अन्तर्राष्ट्रियस्तरको होटल पर्याप्त मात्रामा उपलब्ध नभएको, अन्तर्राष्ट्रियस्तरको विमानस्थलको अभाव, संघीय संरचना अनुसार होटल क्यासिनो लगायत अन्य प्रोडक्टका लागि प्रदेश तहबाट स्वीकृति दिने विषय, पर्यटन व्यवसायको स्वीकृतिका लागि एकद्वार प्रणाली पनि समस्याका रुपमा रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले चासो बढाउनुपर्ने धारणा राखे । राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिव जुद्ध गुरुङले गण्डकी प्रदेशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेको बताउँदै प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेशका अध्यक्ष सञ्जिबबहादुर कोइरालाले पर्यटन क्षेत्र चौबिसै घन्टा खुल्ला रहनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य गणेशबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्य, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका उपसचिव दिवाकर पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, मञ्चका अध्यक्ष दीपक परियार, सचिव सुरेन्द्र पौडेल लगायतले बोलेका थिए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो ।

You might also like

Comments are closed.