गण्डकी प्रदेशमा खुल्यो सहकारी रजिस्टारको कार्यालय

पोखरा । गण्डकी प्रदेश सरकारले सहकारी रजिस्टारको कार्यालय स्थापना गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पोखरामा सहकारी रजिस्टारको कार्यालय स्थापना गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यालयको मंगलबार रिबन काटेर समुद्घाटन गरे ।

सहकारी ऐन २०७५ अनुसार प्रदेशले छुट्टै सहकारी निर्देशनालय स्थापना गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यसअघी गण्डकी प्रदेशको साउन ८ गते बसेको मन्त्री परिषद बैठकले प्रदेशमा सहकारी निर्देशनालय स्थापना गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मन्त्रालयले निर्देशनालय स्थापना गरेको मन्त्रालयले बताएको छ ।

प्रदेशमा खुलेको निर्देशनालयले प्रदेश स्तरिय सहकारीको दर्ता, नवीकरण, सञ्चालन, ब्यबस्थापन, प्रशिक्षण, नीति नियम निर्माण, दर्ता खारेजलगायतका काम गर्ने जनाइएको छ । निर्देशनालयमा कुल १७ जना कर्मचारीको दरबन्दी रहने बताइएको छ । निर्देशनालयमा १ जना रजिस्टार, ३ जना सेक्सन अफिसर, सुब्बालगायतका कर्मचारीको दरबन्दी रहेको हो ।

कुल १७ जना कर्मचारी रहेपनि हाल भने उप–सचिव स्तरका कर्मचारी मात्र रजिस्टारको रुपमा रहेका छन् । हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उप–सचिव बद्रीनाथ अधिकारीलाई रजिस्टारको जिम्मेवारी दिइएको छ । बाँकी कर्मचारी सहकारी नियमावली पारित हुने वित्तिकै समायोजन हुने रजिस्टार बद्रीनाथ अधिकारीले जानकारी दिए । सहकारी नियमावली प्रदेशको मन्त्री परिषद कार्यालयमा पुगेर पेन्डिङमा बसेको छ । बुधबार बस्ने मन्त्री परिषद बैठकले नियमावली पारित गर्ने श्रोतले बताएको छ ।

You might also like

Comments are closed.