गण्डकी प्रदेश र चीनबीच गाइपालन सम्बन्धी सम्झौता

 

पोखरा, १८ फागुन

गण्डकी प्रदेश र चीनबीच गाई पालन सम्बन्धी सम्झौता भएको छ । चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर साइन्स (सि.ए.ए.एम.एस.)÷सि.ए.एम.सि.ई. र गण्डकी प्रदेश सरकारबीच गाई पालन सम्बन्धी शुक्रबार पोखरामा सम्झौता (एमओयू) भएको हो । सम्झौतामा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र चीनको सि.ए.ए.एम.एस.का चिफ ईञ्जिनियर उ डेजेङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार चीनको सि.ए.ए.एम.एस.)÷सि.ए.एम.सि.ई.कम्पनीले गण्डकी प्रदेशलाई गाई पालनका लागि पुँजी र प्रविधी सहयोग गर्नेछ । गाई पालनका लागि करीब १० अर्ब सहयोग आउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार चीनले गण्डकी प्रदेशलाई पहिलो चरणमा ४ हजार गाई सहयोग गर्नेछ । एउटा फार्ममा ५ सय गाई राख्ने गरी ८ वटा फार्म सञ्चालन गर्ने प्रदेशको तयारी छ । शुरुमा एउटा फार्मबाट शुरु गरिने र यसलाई ३ वर्षमा ८ वटा फार्ममा बिस्तार गर्नेगरी सम्झौता भएको सचिव श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा २ हजार र दोश्रो चरणमा २ हजार गरी ४ हजार गाई चीनले प्रदेशलाई दिने उनको भनाई छ । चीनले हुलेस्टन फ्रिजन जातको गाई अनुदानमा नेपाललाई दिनेछ । यो गाईले दैनिक ३५ लिटर दूध दिने बताइएको छ ।

गाई पालनका लागि ठाउँको खोजी भइरहेको सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार कास्की, तनहुँ, लमजुङ र गोर्खामा गाई फार्म राख्नका लागि ठाउँ छनौट भइरहेको छ । स्थानियको चाहना, जमिनको उपलब्धता र भौगोलिकताका आधारमा उपयुक्त हुने ठाउँको खोजी भइरहेको बताउँदै उनले भने,‘सबै हिसाबले अहिलेसम्म तनहुँ उपयुक्त हो कि भन्ने भएको छ, तर अझैपनि टुंगो भने लागिसकेको छैन ।’ गाई पालनका लागि करीब १ हजार हेक्टर अर्थात २० हजार रोपनी जग्गा आवश्यक पर्ने सचिव श्रेष्ठले जानकारी दिए ।

एकै ठाउँमा ८ वटा फार्म सञ्चालन गरेर त्यसबाट ४ वटा प्रोजेक्ट सञ्चालन गरिने उनले बताए । उनका अनुसार गाई पालेर दूध उत्पादन गर्ने, गाईबाट उत्पादित गोबरलाई मल बनाउने, गाईलाई चाहिने दाना त्यहिंको घाँसबाट उत्पादन गर्ने र गोबरबाट ग्याँस उत्पादन गरिनेछ । सचिव श्रेष्ठका अनुसार किसानले चाहेमा ठाउँ ठाउँमा २ सय वटा गाई दिने चाहनासमेत चीनले व्यक्त गरेको छ । तर प्रोजेक्ट भने सामुहिक गाई पालन सफल भएमा लागु हुनेछ ।

सम्झौतापछि बोल्दै सि.ए.ए.एम.एस.का चिफ ईञ्जिनियर उ डेजेङले गण्डकी प्रदेशको समृद्धीमा सघाउन गाई पालनमा सघाउन लागेको बताए । उनले भने,‘स्थानिय गाईहरुलाई बिस्थापन गर्ने हाम्रो उद्धेश्य होइन, तर हामीले दिएका गाईले दिएको दूधले किसानको आयश्रोत बढाउँछ, किसानको जीवनस्तर सुधार्छ र समग्र देशकै प्रतिव्यक्ति आयमा बृद्ध गर्छ ।’ उनले गाई पालनले किसानलाई आत्मनिर्भर बनाउनपनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले एक महिना भित्रमा दूग्ध विकास वोर्ड गठन गरेर गाई पालनको प्रक्रिया शुरु गरिने बताए । उनले एमओयू भइसकेकाले अब डिपिआर तयार गरेर काम शुरु गरिने बताउँदै भने,‘अब गाई पालन सम्बन्धी प्रक्रिया आजैबाट शुरु भयो ।’ मन्त्री थापाले गाई पालनले गण्डकी प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने दाबी गरे । उनले मिल्क होलिडेलाईसमेत गाई पालनले अन्त्य गर्ने बताउँदै भने,‘काँचो दूधको समस्याले गर्दा मिल्क होलिडे भइरहेको छ, तर हामी यसलाई प्रशोधन गरेर विदेशसमेत निर्यात गर्छौं, त्यसैले दूध खेर जाँदैन, अब मिल्क होलिडेको अन्त्य हुन्छ ।’ उनले परम्परागत तरिका, चेतना र दृष्टिकोणले नहुने बताउँदै नयाँ तरिका, सोंच र दृष्टिकोणले काम गरेर समृद्धी प्राप्त गर्नका लागि गाई पालन नीति ल्याएको स्पष्ट पारे । सहकारी बनाएर स्थानियलाईसमेत समेटेर प्राइभेट, पब्लिक र पार्टनरसीप (पीपीपी) मोडलमा काम गरिने उनले बताए । उनले लोकल गाई मास्ने वा स्थानिय किसानलाई सामुहिक गाई पालनले कुनै असर नगर्ने दाबी गरे । दूधको मूल्य निर्धारण गरेर किसानको दूधलाई पहिलो प्राथमिकता दिने बताउँदै उनले किसानको हितमा भएकाले यो प्रोजेक्ट कुनैपनि हालतमा नतुहिने बताए । उनले सामुहिक गाई पालनबाट आएको दूध नेपालमा खपत नभए चीनले नै खरिद गर्ने प्रतिबद्धतासमेत जनाएको जानकारी दिए ।

You might also like

Comments are closed.