गाडी जलाउने बुद्धु र मूर्ख हुन् ः मन्त्री गुरुङ

पोखरा, १९ माघ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारी गाडी जलाउने बुद्धु र मूर्ख भएको टिप्पणी गरेका छन् । थोक व्यवसायी संघ कास्कीको प्रथम साधारण सभा तथा अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले सरकारी सम्पति आफ्नो सरह नसम्झीई तोडफोड र आगजनी गर्ने बुद्धु र मूर्ख भएको टिप्पणी गरेका हुन् ।

शनिबार नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडी सार्वजनिक बिदाको दिन प्रयोग गरेर दूरुपयोग गरेको भन्दै प्रस्याङमा जलाएका थिए । सोहि गाडी जलाएको विषयमा उनले सरकारी सम्पतिमा व्यक्तिको पनि योगदान रहने भन्दै भने,‘नीजि सम्पति मात्रै मेरो हो, सरकारी सम्पति मेरो होइन, भन्दै गाडी जलाउने र तोडफोड गर्ने बुद्धु भएको बताए ।

मन्त्री गुरुङले ब्यापार ब्यबसाय चौविसै घण्टा खोल्न आग्रह गरे । कहिले जाति त कहिले संस्कृतिको नाममा बिदा माग्ने प्रचलनले समृद्धि नआउने बताउँदै उनले भने,‘तपाईं उद्योगी व्यवसायीहरुले पनि चौविसै घण्टा उद्योग व्यवसाय खोल्नुस् ।’

उनले उद्योग वाणिज्य संघले पनि हप्तामा एक दिन बन्द गर्न उद्योगी व्यवसायीलाई उर्दी जारी गर्नेगरेको प्रति असन्तुष्टी जनाउँदै भने,‘तपाईंहरुपनि त्यस्तो उर्दी जारी नगर्नुस्, यसरी समृद्धी आउँदैन, चौविस हैन अढ्चालिसै घण्टा व्यापार व्यवसाय गर्न दिनुस्, बरु त्यसका लागि आह्वान र आग्रह गर्नुस् ।’

मन्त्री गुरुङले व्यापार बढ्दै जाँदा देश झनै समस्यामा पर्ने भएपनि यसले देशमा के को माग छ भन्ने देखाएर त्यो उत्पादन गर्न सघाएको बताए । उनले भने,‘अब व्यापार बढ्यो भनेर चिन्ता मानेर मात्रै हुँदैन, बरु के सबैभन्दा बढी आयात हुँदो रहेछ त्यो हेरेर उत्पादन गर्नुस्, यो एउटा सिक्ने र गर्ने अवसर पनि हो ।’

थोक व्यवसायी संघको अधिवेसन शनिबारै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

You might also like

Comments are closed.