‘गाडी विलाशिता होइन, आवश्यकता हो’

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको १३औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन भदौ ३० गते शनिबार हुँदैछ । एसोसिएसनको अध्यक्ष रहेर बर्तमान कार्यकाललाई सफल नेतृत्व प्रदान गरेका कालिदास पौडेलले नेतृत्व हस्तान्तरण गर्दैछन् । यसैक्रममा अध्यक्ष पौडेलसँग कार्यकालमा भएका काम, अटोमोबाइल्स व्यवसाय लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

आफ्नो नेतृत्वको बर्तमान कार्यसमितिका कामलाई कसरी स्मरण गर्नुहुन्छ ?
सम्पूर्ण साथीहरुको साथ र सहयोगबाट बर्तमान कार्यसमिति सफल भएको छ । हामीले व्यावसायिक हकहितसँगै सामाजिक काम पनि गर्न सफल भएका छौं । सदस्यता बृद्धि पनि उल्लेखनीय भएको छ । आजीवन सदस्य ५६ जना र साधारण सदस्य ८८ गरेर १७१ जना सदस्य छौं । यो वर्ष ३१ जना सदस्य थप गरेका हौं । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाामा अटो शोको स्टल राखेका थियौं । वार्षिकोत्सवको अवसरमा लामे आहालमा रहेको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छौं । अटोमोबाइल्स व्यवसायीका प्रत्येक वर्ष एसइई उत्तीर्ण गरेका छोराछोरीलाई सम्मान गर्ने गरेका छौं । अटोमोबाइल्स डिलर्स एशोसिएसन कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार विन्दुकुमार थापा गण्डकी प्रदेश सदस्यमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन तथा सम्मान गर्दैछौं । पोखरा उद्योग वाणिज्य संघ तथा विभिन्न वस्तुगत संघले आयोजना गरेक कार्यक्रममा हाम्रो सहभागिता रहने गरेको छ । कास्कीको रिभानमा गएको पहिरो पीडितलाई १० हजार रुपैयाँ सहयोग ग¥यौं । अक्षयकोष मार्फत पोखरा बहुमुखी क्याम्पसका गरिव तथा जेहेन्दार २ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । नाडा र वाडाबीच अन्तर्रक्रिया कार्यक्रम पनि पोखरामा सम्पन्न गरेका छौं । पोखरामा छुट्टैखालको अटो एक्स्पो गर्ने योजना बनाएका छौं । पोखरा महानगर तथा प्रदेश सरकारसँग समन्वय गरेर अटो भिलेजको लागि पहल गर्दै आइरहेका छौं । समय समयमा सदस्यहरुका बीच भ्रमण तथा अन्य गतिविधमा हाम्रो सक्रियता रह्यो । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न काम गर्दै आइरहेका छौं । सवारी साधन मर्मत गर्ने मेकानिकहरुलाई टि.टि खोप लगाएर सुरक्षित राख्ने गरेका छौं । कर शिक्षालाई पनि जोड दिएका छांै । सडक सुरक्षा सम्वन्धी विभिन्न कामहरु गर्न सफल छौं ।

गण्डकी प्रदेशको राजधानी पोखरामा अटोमोबाइल व्यवसायको अवस्था कस्तो छ ?
अटो व्यवसायका लागि राजधानी पछिको पहिलो रोजाई पोखरा नै हो । राजधानी भित्रिएका प्राय सबै नयाँ सवारी पोखरामा भित्रिन्छन् । सबै ब्राण्डका गाडीहरु बिगतका वर्षहरुमा भन्दा अहिले बिक्री बढिरहेको पाइएको छ ।

jutta mela

अटो भिलेजको माग गर्दै आउनुभएको छ । सम्भावना छ ?
मुलुक संघीय संरचनामा अगाडि बढेको छ । पोखरा महानगरपालिकाले जनप्रतिनिधि पनि पाएको छ । बिगतमा जनप्रतिनिधि बिहीन हुँदा र पोखरा उपमहानगरपालिका हुँदादेखि नै हामीले अटो भिलेजको अवधारणा अगाडि बढाएका हौं । पोखरा पर्यटकीय नगरी हो । पोखरालाई व्यवस्थित गर्न र अटो व्यवसायको दीर्घकालीन विकासका लागि अटोभिलेज आवश्यक छ । जनप्रतिनिधिहरुको पहलमा अटो भिलेजको अवधारणा अगाडि बढाउन आवश्यक छ । बजार क्षेत्रभन्दा केही पर सार्वजनिक तथा खाली जग्गाहरु खोजेर अटो भिलेज तयार पार्न सकिन्छ । करिब ५ सय रोपनी जग्गाको आवश्यकता पर्छ । ४ लेनको बाटो भएपछि पोखरा भन्दा थोरै टाढा भएपनि अटोभिलेज व्यवस्थित गर्न सकिन्छ । अटो भिलेज हाम्रो मात्र पहुँचको कुरा होइन । हामी आवश्यक सहयोग गर्न भने सधैं तयार छौं । अटो भिलेजको अवधारणालाई हामीले नेपाल अटोमोबाइल डिलर्स एसोसिएन (नाडा)मार्फत मन्त्रालयमा पु¥याएका छौं । जग्गाको समस्या भएका कारण नै यो ओझेलमा परेको छ । सरकारले पनि उचित कदम चाल्न सकेको छैन । अब स्थानीय तहले यसका लागि पहल गर्नुपर्छ ।

सवारी बढेका छन् । पार्किङ अव्यवस्थित छ । विकल्प के हुन सक्छ ?
पोखरामा अझै धेरै सवारीहरु थपिन्छन् । हरेक व्यक्तिका लागि सवारी आवश्यक साधन बनिसकेको छ । सवारी बढेर भन्दा पनि पार्किङलाई व्यवस्थित गर्न नसकेर समस्या सिर्जना भएको हो । पार्किङको व्यवस्थापन गर्न सरोकारवाला निकायको तत्काल ध्यान जान आवश्यक छ । ठाउँ–ठाउँमा अन्डर ग्राउण्ड र फ्लाइ पार्किङको व्यवस्था गर्न सकिन्छ । पार्किङलाई व्यवस्थित गरेर सडक सञ्जाललाई व्यवस्थित गरेर पोखरामा ट्राफिक व्यवस्थापन गर्न सकिन्छ ।

गाडी आवश्यक कि विलाशिताको साधन ?
पञ्चायत कालदेखि नै गाडी तथा मोटरसाइकललाई विलासिताको वस्तुको रुपमा राखेर सरकारले भन्सार कर तथा वार्षिक कर रकम धेरै लिइराखेको छ । विलासिताको वस्तु हो र पैसा हुनेले मात्र गाडी चढ्नु पर्छ भन्ने धारणा सरकारले राखिराखेको छ । यसलाई परिवर्तन गराउनु आवश्यक छ । गाडीलाई विलासिताको वस्तुको रुपमा नलिई आवश्यक साधनको रुपमा लिनुपर्ने आजको आवश्यकता हो । यसै अनुसार कर निर्धारण गर्नु आवश्यक छ । कतिपय मानिसले आफू सुरक्षित हुने महशुस गरेर पनि कार चढ्ने गरेका छन् ।

सवारी चापसँगै दुर्घटना पनि बढिरहेका छन् । कारण के हुन सक्छ ?
नेपालमा भएका सडकको खासै क्वालिटी छैन । सवारी साधन जति बढिरहेको छ, त्यो अनुसार स्तरीय सडक कम छ । जसरी गाडी भित्र्याउदा धेरै कर तिर्नुपर्छ त्यो अनुसार मानिसले सवारी साधन चलाउन सक्ने सडक नेपालमा छैनन् । ढुक्क भएर सवारी चलाउन सक्ने अवस्था छैन । सरकारले कर बढी लिन्छ तर सडकको मर्मतमा भने ध्यान दिन सकेको छैन । सडकको अवस्था सुधार गर्नु आवश्यक छ । न्युन मात्रामा सडक राम्रा भएपनि राजमार्ग तथा शहरमा रहेका बढी चाप पर्ने सडकको अवस्था राम्रो छैन । ती सडकलाई आजको आवश्यकता अनुसार परिवर्तन तथा मर्मत गरिनुपर्छ ।

You might also like

Comments are closed.