गुठी विधेयक सच्याउन माग गर्दै पोखरेलीहरुले ज्ञापन पत्र बुझाउने

पोखरा । पोखरेली गुठी सरोकारवालाहरुले सरकारले ल्याउन लागेको गुठी विधेयक सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाउने भएका छन् । पोखरामा रहेका विभिन्न गुठी संस्थानहरुको शुक्रबार भएको भेलाले गुठी विधेयक सच्याउन सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका हुन् ।

भेलाले सोमबार पूर्वाह्न ११ बजे पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा भेला भएर महेन्द्रपुल, नयाबजार, पृथ्वीचोक, सृजनाचोक, रत्नचोकहुँदै सहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको गणेश सेवा गुठीका सदस्य तथा सामाजिक अभियन्ता विश्वशङ्कर पालिखेले जानकारी दिए ।

भेलामा भद्रकाली गुठी, सितलादेवी गुठी, शोभा भगवती, गणेश सेवा गुठी, विन्ध्यबासिनी धार्मिक गुठी, भीमसेन गुठी, भैरव गुठी, गणेश गुठी भैरवटोल, गणेश गुठी बगालेटाल, गोपालजी गुठी, नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, राम मन्दिर, वाराही मन्दिर गुठी, बुद्ध धर्म गुठी, राष्ट्रिय परोपकार महासंघ, चिसाखोला वेद विद्याश्रम, श्रीपती कोइराला गुठीलगायतका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको पालिखेले जानकारी दिए ।

भेलामा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठ, राष्ट्रिय परोपकार महासंघका कमलनयन गौतम, गणेश सेवा गुठीका विश्वशङ्कर पालिखे, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले गुठीको गुठी विधेयकमा रहेका केहि प्रवाधान नसच्याए गुठीको जग्गा भुमाफियाको खतरामा पुग्ने भन्दै चिन्ता जाहेर गरेका थिए । उनीहरुले राज्य मातहत रहेका यसअघीका सम्पती सुरक्षा गर्न नसकेको सरकारले गुठीको पनि संरक्षण गर्न नसक्ने भएकाले विधेयक सच्याउनुको विकल्प नरेको बताएका थिए ।

You might also like

Comments are closed.