गैरकानूनी कमाईलाई कानूनी दायरामा ल्याउनुपर्छ : मुल्मी

सन्देश श्रेष्ठ
पोखरा, १ भदौ

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले गैरकानूनी कमाईलाई कानूनी दायरामा ल्याउन जरुरी रहेको बताएका छन् । सर्वेश्वर व्यवसायी समिति पोखराको चौथो अधिवेशन तथा आठौं साधारण सभालाई सम्बोधन गर्दै मुल्मीले गैरकानूनी रुपमा धन आर्जन गर्नेलाई करको दायरामा ल्याउनुपर्ने बताएका हुन् । नेपालको अर्थतन्त्रमा कानूनी भन्दा गैरकानूनी रुपमा काम गर्ने बढ्दो छ,‘उनले भने,‘सरकारले पनि कानूनी रुपमा चलेकालाई कर बढाएर दुःख दिन्छ तर गैरकानूनीलाई करको दायरामा ल्याउने प्रयत्न नगरी प्रोत्साहन गर्दछ ।’ उनले गैरकानूनी रुपमा धन आर्जन गर्नेलाई कानूनी दायरामा ल्याउनका लागि व्यवसायीलेपनि दवाब दिनुपर्ने बताए । गैरकानूनी धन आर्जन भएकालाई करको दायरामा ल्याउने हो भने नेपालको अर्थतन्त्र बलियो हुने उनले दाबी गरे ।

पूर्व अध्यक्ष मुल्मीले सुशासनको अभावले देशको अर्थतन्त्र अस्तब्यस्त भएको टिप्पणी गरे । अस्तब्यस्त अर्थतन्त्रलाई सहि बाटोमा ल्याउनका लागि जवाफदेहिता, पारदर्शिता र भ्रष्टाचारमुक्त गरेर सुशासन कायम गर्नुपर्ने उनको भनाई छ । साथै उनले तरलताको अभाव कम गर्नका लागि वैंकिङ कारोबार गर्न आग्रहसमेत गरे । उनले व्यवसायीलाई विधीको शासन स्विकार्न सुझाव दिए ।

पोखरा च्याम्वर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष प्रेमबहादुर भुजेलले व्यवसायीको जोखिम कम गर्नका लागि सामुहिक विमा नीति अवलम्वन गर्नुपर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष ऋषिराम भट्टराईले बाटो छेक्ने, आफ्नै साथीलाई छिर्के हान्नेलगायतका खराब आनीबानी सुधार्न व्यवसायीलाई सुझाव दिए ।

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष प्रदीपकुमार मुल्मीले घर भाडामा दिने र लिनेबीच भइरहेको विवाद अन्त्यका लागि दुबैले लचकता अप्नाएर मिल्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य केशबबहादुर खत्रीले व्यवसायीको हक, हित र अधिकारका लागि आफूहरु सँधै लागिरहने प्रतिबद्धता जनाए ।

सर्वेश्वर व्यवसायी समितिका निवर्तमान अध्यक्ष धर्ममानसिंह भण्डारीले सर्वेश्वर व्यवसायी समिति छोटो समयमा पनि व्यवसायीहरुको अभिन्न अंग बन्न सकेको भन्दै खुशी व्यक्त गरे ।

समितिका अध्यक्ष सन्तोष पौडेल र महासचिव तुलबहादुर थापाले व्यवसायीको हक, हित र अधिकारका लागि समूहले काम गर्दै आएको बताए ।

समितिको अधिवेशनले नया नेतृत्व चयन गर्ने छ । समूहमा ८५ जना आजिवन सदस्य तथा १९५ जना साधारण सदस्य रहेका छन् ।

You might also like

Comments are closed.