गोपीलाई प्याराडिसो कप टेनिस प्रतियोगिताको उपाधी

पोखरा, २७ माघ

गोपीबहादुर भट्टराइले प्याराडिसो कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा धरमसिंह लामिछानेलाई ६–३, २–६ र सुपरटाईमा १०–५ को प्रतिस्पर्धात्म सेटमा पराजित गर्दै गोपीले सो उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत नवप्रवेशितर्फ लक्ष्मण तामाङ प्रथम भए । तामाङले फाइनलमा विकाश भट्टराईलाई ६–२ र ७–५ को सेटमा पराजित गरेका हुन् । प्रतियोगिताका विजेताले नगद ५ हजार तथा उपविजेताले नगद २ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गरे । त्यसैगरि खुलातर्फ राजन विजुक्छे र नवप्रवेशितर्फ विष्णु वानियाँले उदियमान खेलाडीको उपाधी जिते ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट एण्ड ग्रिल बारको प्रायोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पुरस्कार वितरण गरे । सो अवसरमा उनले पोखरामा टेनिसले खेल पर्यटनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । त्यसैगरि आयोजक संघ कास्कीका अध्यक्ष विनोद कायस्थले मन्थ्ली टेनिस प्रतियोगिता पोखराको टेनिसमा नयाँ अध्यायको शुरुवात भएको बताउँदै यसले पोखराको टेनिसलाई थप उचाईमा पु¥याउने आशा व्यक्त गरे ।

यसैविच प्रतियोगिताको अर्को संस्करण मेसुका स्पोर्टले आयोजना गर्ने भएको छ । संघ कास्कीका कोषाध्यक्ष समेत रहेका राजु गुरुङ्गले फागुणको २३ देखि २६ सम्म मेसुका कप खेलाउने घोषणा गरे । सोही अनुसार पहिलो संस्करणको प्रायोजक प्याराडिसोका सञ्चालक गोपी भट्टराईले गुरुङलाई मन्थ्ली टुर्नामेण्टको झण्डा हस्तान्तरण गरे । संघ कास्कीका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.