गोर्खा स्मारकलाई राष्ट्रिय अस्मिताको रुपमा लिन आग्रह

पोखरा, ६ मंसिर। स्याङ्जा फेदीखोला–१, साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारकलाई राष्ट्रिय अस्मिताको रुपमा लिन आग्रह गरिएको छ। स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा पोखरामा भएको ‘गोर्खा स्मारक उद्देश्य र उपलब्धि’ विषयक अन्तरक्रियाका वक्ताले स्मारकलाई राष्ट्रिय अस्मिता भएको ठहर गर्दै त्यस्तो आग्रह गरेका हुन्।

फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले स्मारक गाउँपालिकाको गहनाका रुपमा रहेको औँल्याउँदै त्यसको पूर्वाधार विकासमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताइन्। स्मारकसम्म पुग्ने बाटो स्तरोन्नतिका लागि आफूहरुले सहयोग गरिरहेको स्मरण गर्दै उपाध्यक्ष थापाले अब शौचालय निर्माणमा पनि सहयोग गर्ने जनाइन्। स्मारकका लागि करिब ३ सय रोपनी जग्गा जुटाउने कार्य आफैमा महत्वपूर्ण रहेको उनको ठम्याइ थियो।

गोर्खा स्मारकबारे कार्यपत्र प्रस्तुत गर्दै स्मारक कोषका महासचिव डा चन्द्रबहादुर गुरुङले नेपालको परराष्ट्र नीतिमा गोर्खा सैनिकको योगदान पनि आउनुपर्ने भन्दै हजारांै नेपालीले विश्वशान्तिका लागि देहत्याग गरेको सम्झिए। उनले विश्वका विभिन्न ठाउँमा गोर्खालीको चिहान रहेको तर त्यहाँ गोर्खालीको नाम नरहेको स्मरण गर्दै भारतले गोर्खालीप्रति नकारात्मक सन्देश फैलाइरहेको बताए।

महासचिव डा गुरुङले स्मारक निर्माणपछि नेपाल र बेलायती प्रधानमन्त्रीबाट संयुक्त रुपमा उद्घाटन गराउने आफूहरुको लक्ष्य रहेको जनाए। सरकारी निकाय मार्फत स्मारकका लागि हालसम्म पाँच करोड ५० लाख रुपैयाँ निकासा भइसकेको भन्दै गुरुङले गेसो आन्दोलनको योगदानबारे चर्चा गरेका थिए। पर्यटन र राष्ट्रियताका हिसाबले स्मारक महत्वपूर्ण रहेको उनको ठहर थियो।

फेदीखोला–१ का अध्यक्ष खेमबहादुर खत्रीले सरोकारवाला सबैको ध्यान स्मारकको कार्य सम्पन्नता गर्नेतर्फ हुनपर्ने जनाए।

निर्माण समिति अध्यक्ष पूरनध्वज गुरुङले २ वर्षमा समाधिस्थल निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाउँदै स्मारकलाई राष्ट्रिय गौरवको आयोजनाको संज्ञा दिए। उनले ६० हजार पितृको नाममा सैनिक पोशाकमा मूर्ति स्थापना गरिएको पनि जनाए।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्मारकको महत्वमाथि चर्चा गरेका थिए।

स्मारकमा हाल समाधिस्थल तथा खानेपानी आपूर्तिको कार्य भइरहेको छ। त्यस अलावा गोर्खा म्यूजियम, १९ वटा विभिन्न जातिका घर, ६३ मिटर अग्लो टावर तथा तीन डिब्बे रेल चलाउने योजना पनि छ । कास्की र स्याङ्जाको सिमाना साल्मेडाँडा पोखराबाट १७ किलोमिटर दक्षिणमा पर्दछ। स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण रानाभाटले स्वागत र सचिव असफल गौतमले संचालन गरेका थिए।

You might also like

Comments are closed.