गौरीघाटको पार्क उद्घाटन

पोखरा, १ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा न ६ शिबमन्दिर परिसर गौरीघाटमा निर्मित पार्कको मंगलबार उद्घाटन गरिएको छ । पार्कको प्रतिनिधि सभाका सांसद रवीन्द्र अधिकारी र प्रदेश सभाका सांसद राजिब पहारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै सांसद अधिकारीले पर्यटकीय क्षेत्र लेकसाइड अब सफा र आकर्षक मात्रै नभई संसारकै उत्कृस्ट गन्तब्य बनाउन लागि पर्ने बताए । ‘यो क्षेत्रकै पर्यटकीय गहना फेवातालको संरक्षणका निम्ती विशेष कार्यक्रम बनिसकेको छ,’ उनले भने । नयाँ सरकारको गठनसँगै अब बन्ने सरकार विशेष कार्य योजना सहित अघि बढ्ने उनले बताए ।

भर्खरै पोखरा लेखनाथ महानगरसंगको सहकार्यमा निर्वाचन क्षेत्र विशेष पूर्वाधार विकास कार्यक्रम मार्फत ताल सफा गर्ने मेसिन आएर त्यसले कार्य शुरु गरिसकेको उनले बताए । फेवा तालको माटो फाल्ने विषय दीर्घकालीन रुपमा अघि बढाउनुपर्ने भन्दै क्षणिक रुपमा पटक पटक काम गर्नु नपर्ने गरी कार्यक्रम बनाइने उनले बताए ।

प्रदेश सभा सांसद राजिब पहारीले कुनै पनि बहानामा अब तालको संरक्षण र सम्बद्र्धनका विरुद्ध आउने षड्यन्त्र परास्त गर्ने भन्दै जनताको साथमा अब लेकसाइडलाई प्रबिधिले युक्त अत्याधुनिक क्षेत्र बनाउने बताए ।

कार्यक्रममा नागरिक समाजका अगुवा विष्णु हरि अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा लगायतले बोलेका थिए ।

निर्माण कार्य सम्पन्न गर्न ४ लाख ९ हजार रुपैयाँ खर्च भएको थियो । जसमा सांसद अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १ लाख रुपैयाँ र बाँकी स्थानीय सहभागिताबाट जुटाइएको आयोजकले जानकारी दिएको छ ।

शिब मन्दिर पार्क निर्माण समितिका अध्यक्ष लभ भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीघाट वातावरण तथा समाज सुधार समितिका अध्यक्ष कुश भुजेलले स्वागत र निर्माण समितिका सचिव कृष्ण पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.