गौ संरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या

तनहुँ २३ बैशाख
शुक्लागण्डकी नगरपालिका–९ घारीमा निर्माण गरिएकोे गौ संरक्षण केन्द्रका गाई व्यवस्थापनमा समस्या भएको छ । छाडा गाई थपिने क्रम बढेसँगै संरक्षण केन्द्रलाई नै गाई व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।

छाडा चौपाया व्यवस्थापनका लागि शुक्लागण्डकी नगरपालिकाको रु.१७ लाखको लगानीमा सो ठाँउमा गौ संरक्षण केन्द्र निर्माण गरिएको हो ।  गाईको स्यहार सुसारमा समस्या भएपछि संरक्षण केन्द्रका ४ गाई मरेका छन् । केन्द्रमा २सय ५० गाई रहेकोमा ४ गाई मरेको सोही वडाका अध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा दिन प्रतिदिन गाईहरु थपिने क्रम बढेसँगै आहारा अभावमा यस्तो अवस्था सिर्जना भएको श्रेष्ठको भनाइ छ । उनका अनुसार संरक्षण केन्द्रमा दैनिक १० गाई थपिने गरेका छन् ।
खानेकुराको राम्रोसँग व्यवस्था गर्न नसक्दा र गाईलाई आवश्यक ठाँउको समेत अभाव हुने अवस्था सिर्जना भएको छ ।

गौ संरक्षणको लागी अहिले ट्रष्ट निर्माणको काम भइरहेको छ । ६ सय रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा जग्गालाई तारबार, चौपायाका लागि पानी खुवाउन पोखरी निर्माण भइसकेको छ ।
छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात अवरोध हुने, पैदलयात्री त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्ग्न्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गरेको हो ।

You might also like

Comments are closed.