ग्रामीण पर्यटन महोत्सव फागुन २३ देखि २५ गतेसम्म

आर्थिक आवाज
पोखरा, १८ माघ । पोखरामा फागुनको तेश्रो साता ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको हो । महोत्सव फेवाताल किनार वाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भिटोफ गण्डकी प्रदेश अध्यक्ष रवीन्द्रराज पौडेलले बताए । महोत्सवमा गण्डकी प्रदेशका ५० भन्दा बढी होमस्टेहरुका स्टल रहने जनाइएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा रहेका होमस्टेहरुका नमूना होमस्टेहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने अध्यक्ष पौडेलले बताए । महोत्सवमा १० वटा खानाका परिकारका स्टलहरुपनि रहने उनले जानकारी दिए । महोत्सवमा ग्रामीण पर्यटनसँग सम्बन्धित विभिन्न प्रवद्र्धनात्मक जानकारी दिने ब्रोसर, पर्चालगायत पनि वितरण गरिने उनले बताए ।

jutta mela

पत्रकार सम्मेलनमा उपस्थित नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले ग्रामीण पर्यटनलाई एक अर्कासँग लिंकेज गर्ने तथा ती ग्रामीण पर्यटनका गन्तव्यहरुको प्रवद्र्धन गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको बताए । उनले सन २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने योजनालाई पनि महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले ग्रामीण पर्यटन गण्डकी प्रदेशको निर्विकल्प गन्तव्य भएकाले यसको प्रवद्र्धन गर्न सके देश र समुदायले त्यसको यथेष्ट फाइदा लिनसक्ने बताए । उनले पछिल्लो ३ वर्षमा २५ वटा होमस्टेबाट बढेर २ सय २३ वटा होमस्टे गण्डकी प्रदेशमा पुगेको भन्दै यसले होमस्टेको संख्यासँग गुणात्मकतामा पनि वृद्धि भएको बताए ।

महोत्सवमा राखिएका होमस्टे मध्ये होमस्टे स्टल, कल्चर र खानाका परिकारलाई नगदसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित पुरस्कृत गरिने अध्यक्ष पौडेलले जानकारी दिए । सो अवसरमा ग्रामीण पर्यटन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाईसमेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने मञ्चका निवर्तमान अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । महोत्सव सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको मञ्चले जनाएको छ ।

You might also like

Comments are closed.