घडेरी बनाउन फेवातालको माटोले सिमसार पुरिदै

 

सन्देश श्रेष्ठ

पोखरा, १७  बैशाख

विकास विनाशमा पनि परिणत हुनसक्छ यदी बेलैमा सचेत भइएन भने । त्यसैले कुनैपनि काम गर्नुभन्दा पहिले त्यसको असर के हुन्छ भनेर लेखाजोखा गर्नुपर्ने हो । तर स्थानिय सरकार पोखरा महानगरपालिकाले त्यतिपनि ख्याल नगर्दा फेवातालको गहिराई बढाउनका लागि भइरहेको कामले पुरिने खतरा बढेको छ ।

महानगरपालिकाले फेवातालको गहिराई बढाउने भन्दै फेवातालबाट माटो निकालिरहेको छ । तर त्यो निकालेको माटोले सिमसार क्षेत्र पुरिदैछ । सिमसार क्षेत्र पुरेर घडेरी बनाउनका लागि तालको माटो प्रयोग भइरहेको हो । सबैतिर सिमसार भएको सो जग्गाको बिचमा लगेर पुर्ने काम धमाधम भइरहेको छ, त्यसलाई घडेरी बनाउने उद्धेश्यले पुर्ने काम भइरहेको स्थानिय नारायणबहादुर अधिकारीले बताए ।

तालको सिरान क्षेत्र खपौंदी क्षेत्रमा पोखरा महानगरपालिकाले जेसिभीको प्रयोग गरेर ताल गहिराउने काम गरिरहेको छ । दैनिक त्यहाँबाट सयौं टिप्पर माटो निकालिने गरेको छ । तर त्यो माटो खपौंदी भन्दा केहि माथि पामे बजार नजिकको पहिलेको डुंगाघाट अर्थात समर्खु भन्ने ठाउँको सिमसार क्षेत्र पुर्न प्रयोग भइरहेको छ ।

सरकारले सिमसार क्षेत्र संरक्षण गर्नुपर्ने हो । तर स्थानिय सरकारको रुपमा रहेको पोखरा महानगरपालिका भने सिमसार क्षेत्र पुर्ने काममा सघाइरहेको छ । अर्थात सिमसार क्षेत्र पुरिरहँदा पोखरा महानगरपालिका मुकदर्शक बनेको छ । जसले गर्दा दिनहुँ फेवाताल पुरिने खतरा बढ्दै गएको छ ।

सिमसार क्षेत्र तालको पानीको श्रोत मात्रै भएकोले त्यहाँ माटो राख्दा खतरा बढेको होइन । बरु त्यहाँ अहिले हिउँदमा राखेको माटो पछि बर्खामा आएको पानीले बगाएर पुनः फेवातालमै ल्याउँछ । जसले गर्दा फेवाताल पुनः पहिलेकै जस्तो पुरिन्छ । यस कारणले पनि फेवाताल पुरिने जोखिम बढेको हो ।

पुरिदै गरेको सिमसार क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर २४ मा पर्छ । तर वडा नम्बर २४ सिमसार क्षेत्र पुरिदा मुकदर्शक बनेको छ । वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुबेदी वडाको समन्वय बिना नै महानगरपालिकाले सिमसार क्षेत्रमा फेवातालको माटो हाल्ने काम भइरहेको बताउँछन् । उनले भने,‘फेवातालको माटोले सिमसार क्षेत्र पुरिदा हामीपनि अचम्ममा परेका छौं, किन यसो गरिएको हो भनेर ठेकेदारलाई बुझ्दा महानगरपालिकाको निर्देशन अनुसार गरेका हौं भन्छ ।’ उनले पहिले नगर परिषदबाट निर्णय गरेरमात्रै गरिनुपर्ने काम महानगरले एकलौटी रुपमा वडासँग समन्वय नगरि काम गरिरहेको बताए ।

फेवातालको माटो निकाल्ने जिम्मा पाएको रिच पोखरा कन्स्ट्रक्सनले भने फेवाताललाई असर नपर्नेगरी तालको माथिल्लो भागमा तालबाट निकालिएको माटो फाल्ने गरेको बताएको छ । रिच पोखरा कन्स्ट्रक्सनका सञ्चालक मध्येका एक पोषण थापाले भने,‘महानगरकै स्विकृतिमा हामीले तालको माथिल्लो भागमा माटो लगेर फालेका हौं, फालेको माटो तालसम्म नआइपुगोस् भनेर हामी सचेत छौं, त्यसैलेपनि हामीले समर्खु क्षेत्र रोजेका हौं ।’

गण्डकी प्रदेशका सांसद रामजी बराल ‘जीवन’ले फेवातालको माटो निकालेर सिमसार क्षेत्र पुरिनु ताल संरक्षणको बिरुद्धमा रहेको बताउँछन् । सिमसार क्षेत्र पुर्ने काम तत्काल बन्द गर्न माग गर्दै उनले भने,‘यो सिमसार क्षेत्र, रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा ताल गहिराउने नाममा कसैको अवैध लालपूर्जालाई बैध बनाएर घडेरी बनाउने वातावरण बनाइदैछ, यो सरासर गलत हो ।’ उनले सिमसार पुर्दा ताल संरक्षण होइन ताललाई संकटमा पु¥याएर विनाश निम्त्याउने चेतावनी दिए ।

अर्का प्रदेश सांसद राजिव पहारीपनि सिमसार क्षेत्र पुरेर ताल संरक्षण नहुने बताउँछन् । सिमसार पुर्ने काम गलत भएको बताउँदै उनले भने,‘ताल बचाउन ज्यान दिनपनि तयार छु, सिमसार पुर्ने काम सरासर गलत छ, तुरुन्त रोक्नुपर्छ ।’

पोखरा महानगरपालिकाका प्रमुख ईञ्जिनियर महेन्द्र गोदारपनि सिमसार क्षेत्र पुर्नु गलत हुने बताउँछन् । सिमसार क्षेत्र पुरेकोबारे अनभिज्ञता प्रकट गर्दै उनले भने,‘यदी पुरिएको हो भने यो गलत हो, हामीले सिमसार क्षेत्र पुर्न हुँदैन भनेर पहिल्यै भनिसकेका छौं ।’

पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगालाल सुबेदीले आफूहरुले सिमसार क्षेत्र पुर्न नभनेको भन्दै त्यसरी पुरिएको भए गलत हुने बताए । यद्वपी उनले सिमसार क्षेत्र नभई फेवातालको सिरान क्षेत्रमा रहेको खेतीयोग्य जमिन पुर्नका लागि भनेको बताए । सिमसार पुर्ने हाम्रो उद्धेश्य होइन–उनले भने,‘खेती योग्य जमिनलाई पुर्न भनेका छौं, तर खेतीयोग्य जमिन नभएर सिमसार पुरिएको हो भने त्यो गलत हो ।’ उनले पछिल्लो क्रममा आफू अवलोकनका लागि नगएकाले पुरिएको क्षेत्र सिमसार क्षेत्र हो वा होइन भन्नेबारेमा अनभिज्ञता प्रकट गरे ।

You might also like

Comments are closed.