काठमाडौं । सरकारले घरैमा होम डेलिभरीका साथ चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) उपलब्ध गराउने भएको छ । यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यता अन्त्य हुनेछ । यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो ।
यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत उपेन्द्र शाहका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन केही समय लाग्नेछ ।
लकडाउन र कोरोना भाइरसको संक्रमणको समयमा होम डेलिभरी सेवा उपयुक्त हुने उनको सुझाव छ । सेवाग्राहीको पनि समयमै लाइसेन्स पाइएन भन्ने व्यापक गुनासो छ । सरकारी कार्यालयले पनि सेवाग्राहीलाई चुस्त र स्तरीय सेवा दिन सक्छन् भन्ने उद्देश्यले होमडेलिभरीको सुरुवात गर्न खोजिएको उनको भनाइ छ ।
यातायात कार्यालयका कर्मचारीले अनुमतिपत्रमा प्रिन्ट भएको मोबाइल नम्बरमा सम्पर्क गरी सेवाग्राहीलाई होम डेलिभरीका लागि प्रस्ताव राख्नेछन् । सेवाग्राहीको स्वीकृतिमा होम डेलिभरी गरिनेछ ।
यातायात कार्यालयले तोकेको कुरियर सेवा प्रदायकले सेवाग्राहीसँग निश्चित रकम लिएर होम डिलेभरी गर्ने तयारी छ । होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र मोसफलमा १०० रुपैयाँसम्म शुल्क व्यहोर्नुपर्ने यातायात कार्यालयको तयारी छ ।
Comments are closed.