पोखरा, २० जेठ
पर्यटकीय गाउँ घान्द्रुक जाने बाटो अब कालोपत्रे (पिच) हुने भएको छ । विश्व चर्चित अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने नयापुलदेखि घान्द्रुक उरीसम्मको बाटो कालोपत्रे हुने भएको हो । २०५८ सालमा ट्रयाक खोलिएको सो सडक अहिले आएर बल्ल स्तरोन्नती गर्न लागिएको हो । सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरे । पूर्वाधार विकास निर्देशनालय पोखराको १९ करोडको लागतमा घान्द्रुककोसडक कालोपत्रे गरिने निर्देशनालयका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए ।
नयापुलदेखि बिरेठाँटी हुँदै उरीसम्मको १० किलोमिटर सडक २ वर्षभित्रै बनाइसक्ने सम्झौता भएको छ । सम्झौतामा २०७८ साल जेठ १० गते भित्रमा बनाइसक्ने उल्लेख छ । परिवर्तित सार्वजनिक खरिद नियमावली अनुसार सम्झौताबाहेक म्याद थप्न नपाइने नियम भएकाले बाटो निर्माण समयमै सक्नुपर्ने निर्देशनालय प्रमुख श्रेष्ठले बताए ।
सडक ७ देखि ९ मिटरसम्मको हुने श्रेष्ठले बताए । पिच साढे ५ मिटरको र बाँकी भाग फुटपाथ र नाली हुने उनले जानकारी दिए ।
गण्डकी प्रदेश सांसद राजिव पहारीले एक निर्वाचन क्षेत्र एक सडक योजना अनुसार घान्द्रुकको बाटो निर्माण गर्न लागिएको बताए । गण्डकी प्रदेशका सबै ३६ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा बाटो बनाउने योजना गण्डकी प्रदेश सरकारको रहेकाले सोहि योजना अन्तर्गत घान्द्रुकको बाटो आफूसहितका नेताहरुको पहलमा परेको उनको भनाई थियो ।
Comments are closed.