चट्याङ जोखिम न्युनिकरण सम्बन्धी कार्यशाला

तनहुँ चैत १२ ।

व्यास नगरपालिका र लार्क नेपालको संयुक्त आयोजनामा मंगलबार दमौलीमा चट्याङ जोखिम न्युनिकरण सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । चट्याङबाट हुने क्षति दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा यसबाट कसरी सुरक्षित भइ जोखिम न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश पौडेलले जानकारी दिए ।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न वा नियन्त्रण गर्न नसकिने भए पनि सावधानी भने अपनाउन सकिने बताए । वर्षायाम सुरु भएसँगै चट्याङको जोखिम उच्च हुने चर्चा गर्दै उनले यसबाट बच्न समयमै सचेतना अपनाउन सुझाव दिए ।  त्यस्तै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले घर निर्माण गर्दा अनिवार्य अर्थिङ गराउनुपर्ने मापमण्ड तोक्ने हो भने त्यो जोखिम न्युनिकरणको राम्रो विकल्प बन्न सक्ने बताए । ‘सचेतनाको अभावले पनि चट्याङको जोखिम बढेको हुनाले यसबाट सुरक्षित हुने उपायहरुको व्यापक प्रचारप्रसार हुन आवश्यक छ’ उनले भने ।

२ दिनसम्म चल्ने तालिममा प्रा.डा श्रीराम शर्माले प्रशिक्षण दिनेछन् । तालिममा सुरक्षाकर्मी, कर्मचारी, प्राविधिक, जनप्रतिनिधि र सर्वसाधारणहरुको सहभागी रहेको छ ।
व्यास नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज शर्माले स्वागत गरेका थिए भने विमल गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.