चावी र कागजपत्र बैंकमा बुझाउने अवस्था आउन सक्छ : केसी

योगेन्द्रबहादुर केसी, अध्यक्ष, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि

कोरोना महामारीका कारण यातायात व्यवसाय धरापमा परेको अवस्था छ । व्यवसायीले चावी र कागजपत्र बैंकमा बुझाउन बाध्य हुने अवस्था आउन सक्छ । व्यवसायीलाई जोगाउनका लागि सरकारले उचित निकास निकाल्नु आवश्यक छ ।

हामीले बैंक तथा वित्तीय सस्थालाई ब्याज मिनाहा गर्न भनेका छैनौं । किस्ताको समय तालिका केही पछाडि सारिदिन हाम्रो आग्रह हो । ६ महिनादेखि १ वर्षको समयावधी सारेमा व्यवसायीलाई केही राहत महसुस हुन्छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा १ हजार ४ सय व्यवसायी आवद्ध छन् । करिव ९८ प्रतिशत व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेको अवस्था छ । १० प्रतिशत ब्याजमा लिएको ऋणको व्याज अहिले १५ प्रतिशतसम्म पुगेको अवस्था छ । ब्याज बढाउँदा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सोध्ने गरेको पाईंदैन तर घटाउदा निवेदन दिनुपर्ने अनि सारै न्युन मात्र घटाउने चलन छ । प्रायले ०.५ प्रतिशतका दरले घटाएको पाइन्छ ।

यातायात व्यवसायका साथै उद्योगी तथा व्यवसायीलाई प्रवद्र्धन गर्न राज्यले सिङ्गल डिजिटमा व्याजको व्यवस्था गर्नुपर्छ । बचत र मुद्धतिको व्याजदरमा पनि राष्ट्र बैंकले ध्यान दिनु आवश्यक छ ।

ईन्धनमा कर लगाउने कुरा पनि अव्यवहारिक छ । सन् १९९० पछि अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ऋणात्मक छ । अहिले २१ रुपैयाँमा आउने पेट्रोललाई ९६ रुपैयाँमा बिक्री गरिएको छ । तथ्याङकलाई हेर्ने हो भने ३० रुपैयाँमा बिक्री गर्न सकिन्छ । स्वचालित मान्यता अनुशार १५÷१५ दिनमा इन्धनको मूल्य समायोजन गर्नुपर्छ तर समायोजन गरिदैन । समायोजन नभएका कारण यातायात व्यवसायीका साथै अन्य उद्योगी व्यवसायी पनि मारमा छन् । बजारमा हुने मूल्य वृद्धि पनि ईन्धनमा भर पर्छ । जति सस्तोमा राज्यले ईन्धन उपलब्ध गराउछ बजार पनि त्यती नै सस्तो हुन्छ ।

कोरोना महामारीका कारण व्यवसायीसँगै यातायात मजदुरलाई पनि समस्या आएको छ । सवारी साधन संचालन भएका छैनन् । यसले मजदुरलाई प्रत्यक्ष असर पारेको छ ।

(कुराकानीमा आधारमा)

You might also like

Comments are closed.