चिकित्सा रसायन शास्त्र संघको तेस्रो सम्मेलन पोखरामा

पोखरा, फागुन १३ ।
नेपाली चिकित्सा रसायन शास्त्र संघको तेस्रो वार्षिक सम्मेलन पोखरामा हुने भएको छ । आउँदो फागुन १८ र १९ गते हुने गइरहेको अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा देश र विदेशबाट गरि झण्डैं तिन सय बढि चिकित्सा रसायन शास्त्रसँग सम्बन्धित अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरु सहभागि हुनेछन् ।
चिकित्सा रसायन शास्त्रको प्रबद्र्धन गर्दै त्यसको उच्चतम अभ्यास मार्फत जनस्वास्थ्य सम्बन्धि समस्या निदानमा अभिप्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजक समितिका सचिव एवं मणिपाल शिक्षण अस्पताल जीव रसायन शास्त्र विभागका प्राडा. दयाराम पोखरेलले जानकारी दिए ।

‘अनुसन्धानकर्ताहरुले अध्ययन सहित पत्ता लगाएका चिकित्सा रसायन शास्त्र सम्बन्धि नया ज्ञान, प्रविधि र शीपहरु र तिनको समुचित प्रयोगबाट कसरी मानवस्वास्थ्यमा देखिएका समस्याहरुको निदान गर्न सकिन्छ भन्ने बारे विभिन्न कोणबाट छलफल हुनेछ,’ उनले भने, ‘भारत, थाइल्याण्ड, मलेसिया र नेपालकै गरि ६ जना आमन्त्रित विशिष्ट प्राध्यापक र अनुसन्धानकर्ताहरुले समेत सम्मेलनमा आ–आफ्ना धारणा राख्ने बताइएको छ ।

सम्मेलनमा नेपाल र भारतका प्राध्यापक, अनुसन्धानकर्ता, प्रशिक्षार्थी गरी ३२ जनाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रा.डा. दयाराम पोखरेलले जानकारी दिए । सुक्ष्म जैविक संक्रमण, वंशानुगत कारण र कोषिका भित्र हुने असामान्य गतिविधिले मानव शरीरका तरल पदार्थहरु जस्तै रगत, पिशाब, रयाल इत्यादिमा उत्पन्न हुने रासायनिक परिवर्तनको कारण पत्ता लगाई उपचार विधिमा सहज बनाउने आधुनिक स्वास्थ्य उपचार पद्धतीको महत्वपूर्ण भाग हो ।

समयअनुसार मानिसहरुमा देखिने अनेकौं लक्षणहरुको समयमै निदान खोज्न रसायन शास्त्रका अनुसन्धानकर्ताहरुले नया नया अन्वेषण गरिरहेका हुन्छन् । चिकित्सा रसायन शास्त्रको क्षेत्रमा कार्यरत वैज्ञानिक एवं प्राध्यापकहरुको खोज, अन्वेषणलाई व्यवस्थित गर्न एवं उनीहरुको व्यवसायिक हक हित समेत सरक्षण र सुनिश्चित गर्नको लागि सन् २०१४ मा चिकित्सा रसायन शास्त्र संघको स्थापना भएको प्रा.डा. पोखरेलले जनाए ।  राजर्षी जनक विश्वविद्यालय जनकपुरका उपकुलपति प्रा. भरत झा संघको अध्यक्ष छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सहयोग गर्न समेत सम्मेलन पोखरामा आयोजना गरिएको आयोजक समितिले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलन फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा आयोजना हुँदै छ ।

You might also like

Comments are closed.