चिकित्सा शिक्षा विधेयक पास गर्दा बहुमतले विवेकलाई बन्धक बनायोः कांग्रेस प्रवक्ता शर्मा

सन्देश श्रेष्ठ
पोखरा, १८ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदको सर्वोच्चताबारे कांग्रेसलाई पाठ नपढाउन कम्युनिष्टलाई चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन कास्की शाखाले शुक्रबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जुंगाको रेखी बस्नुभन्दा अघिदेखी नै कम्युनिष्ट बनेकाहरुले प्रजातान्त्रिक अभ्यास भित्र पर्ने संसदको सर्बोच्चताबारे कांग्रेसलाई कम्युनिष्टले पाठ पठाउन आवश्यक नरहेको बताएका हुन् ।

यसअघि विहीबार पत्रकारसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक देव गुरुङले कांग्रेसले कसैको उक्साहटमा संसदलाई फ्लप पार्नका लागि संसद अवरुद्ध गर्दै आएको बताएका थिए । गुरुङको भनाईको प्रतिवाद गर्दै प्रवक्ता शर्माले भने,‘हिजो कुर्सी तोडफोड र ब्रिफकेस खोस्ने काम गर्नेहरुले कांग्रेसलाई संसदको सर्बोच्चताबारे पाठ पढाउन आवश्यक छैन, कांग्रेस प्रजातन्त्र र संसदको सर्बोच्चताबारे आफै जानकार छ ।’ उनले बहुमतको आडमा विवेकलाई बन्धक बनाएर चिकित्सा शिक्षा विधेयक ल्याएको टिप्पणी गरे । बहुमतको बिरोध आफूहरुले नगरेको स्पष्ट पार्दै आफैले गरेको सम्झौता पालना नगरेकाले संसद अबरुद्ध गर्नुपरेको उनको भनाई थियो ।

कांग्रेस प्रवक्ता शर्माले चिकित्सा शिक्षा विधेयक तोडमरोड गरी ल्याएकोभन्दै त्यसको बिरोधमा २४ दिनदेखी अनसनरत डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरे । केसीको माग कांग्रेसको पनि भएको बताउँदै उनले भने,‘तपाईंको मुद्धा हाम्रो पनि मुद्धा हो, हामी तपाईंको मुद्धा बोक्छौं, तपाईं अनसन तोड्नुस् ।’ सरकारले डा.केसीको मागप्रति बेवास्ता गर्नुका साथै अनसन तोडाएर जीवन रक्षा गर्नका लागिपनि चासो नदेखाएकाले कांग्रेस सभापति शेरबहादुर देउवाले केसीलाई बचाउने उद्धेश्यले अनसन तोड्न आग्रह गरेको प्रष्ट पारे ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई कमजोरी सच्याउन आग्रह गरे । कमजोरी सच्याउन प्रचण्डबाट सिक्न सुझाव दिदै उनले भने,‘हिजो कटुवाल काण्डलगायतमा गरेको कमजोरी प्रचण्डले सच्याएका थिए, आज प्रधानमन्त्रीकै पार्टीको आधा अध्यक्ष प्रचण्ड कमरेड ओलीजीसँगै हुनुहुन्छ, उहाँबाट सिके हुन्छ कमजोरी सच्याउन, नत्र कांग्रेसबाट सिकेपनि हुन्छ ।’

शर्माले राज्यका विभिन्न मन्त्रालयले गरिरहेका कामको शुक्ष्म ढंगले नियाल्न कांग्रेसले छायाँ सरकार गठन गर्न लागेको प्रष्ट्याए ।

छायाँ सरकारको अभ्यास पहिलोपटक तत्कालिन नेकपा एमालेले २०४८ सालमै शुरु गरेको भन्दै अहिले आफूहरुले पनि सरकारले गल्ती कमजोरी गरे खबरदारी गर्नका लागि छायाँ सरकार बनाउन लागेको उनको भनाई थियो । उनले वाइड वडी विमान खरिद, बुढी गण्डकी निर्माण चिनिया कम्पनीलाई दिदा भ्रष्टाचार भएको आरोप लगाए । वाइड वडी विमान खरिदमा देउवाको संलग्नता नभएको दाबी गर्दै उनले त्यसबारे छानविन गर्नपनि कांग्रेस तयार रहेको उल्लेख गरे । उनले निजगढ विमानस्थलका लागि आधा रुख काट्दापनि हुने ठाउँमा दोब्बर रुख काट्ने प्रस्ताव ल्याएर पर्यटन मन्त्री रविन्द्र अधिकारीले चलखेल गरेको आरोपसमेत लगाए । उनले भने,‘निजगढ विमानस्थलका लागि जति रुख काट्न आवश्यक छ, त्यतिमात्र काट्नुपर्छ, तर यहाँ दोब्बर काट्ने प्रस्ताव आएको छ, यसमा चलखेल छ ।’

You might also like

Comments are closed.