‘चिन्तन र सोच सकारात्मक बनाउन सके स्मार्ट सिटी सजिलै’

कमल पौडेल अथक
पोखरा, २० जेठ । स्मार्ट सहर रहर मात्र नभएको एक कार्यक्रमका वक्ताले बताएका छन् । नेपाल विज्ञान तथा प्रज्ञा प्रतिस्ठान नाष्टको आयोजना तथा कम्युटर एशोसिएसन महासंघ क्यान कास्कीको सहयोगमा आइतबार पोखरामा आयोजित सम्वृद्ध नेपालको लागि स्मार्ट सहर विषयक छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

स्मार्ट सहर बन्नको लागि शिक्षा, स्वास्थ्य, रोजगार, फोहोर व्यवस्थापन, सूचना र प्रविधिको पहुँच सहित सभ्य नागरिक आवश्यक पर्ने उनीहरुले बताए । उनीहरुले पुराना र आधुनिक कुराहरुको समिश्रण नै स्मार्ट सिटी भएको धारणा राखे ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद नारायणप्रसाद मरासिनीले हरेक मानिसको चिन्तन र सोच सकारात्मक बनाउन सके स्मार्ट सिटी सजिलै बनाउन सकिने बताए । स्मार्ट सिटी निर्माण गर्न हाल देशमा रहेका तीन तहका सरकारको वैज्ञानिक प्रयोग आवश्यक रहेको उनले बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले स्मार्ट सिटीको लागि सबै नगरबासीको सहयोग र समर्थन आवश्यक रहेको बताए । व्यवहारमा उतार्न नसकेसम्म मुखले मात्र स्मार्ट सिटी भनेर त्यो सहर स्मार्ट वन्न नसक्ने उनको भनाइ छ ।

नाष्टका उपकुलपति जीवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ्टार नगर प्रमुख दीपक बाबु कँडेल, क्यान महासंघका केन्द्रीय उपाध्यक्ष सुनयना पाण्डे, नाष्टका रवीन्द्रप्रसाद ढकाल, भोजराज लामिछाने र क्यानका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा इन्जिनियर रामदीप शाह, डाक्टर सुनीलबाबु श्रेष्ठ, डा. सुवर्ण शाक्य, र डा रवीन्द्र प्रसाद ढकालले स्मार्ट सिटीको अवधारणाको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.