चीनबाट गाई नल्याउन गाई पालक किसानको चेतावनी

पोखरा, १९ फागुन

कास्कीका गाई पालक किसानहरुले चीनिया गाई ल्याउन लागेको प्रति आपत्ति जनाएका छन् । किसान महासंघ कास्कीको पहलमा आइतबार पोखरामा भएको पशु पालक किसान, दूध उत्पादक किसानलगायत सरोकारवाला किसान सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले चीनिया गाई नेपाल ल्याएर पाल्ने विषयमा आफूहरुसँग छलफल नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै बिरोध जनाएका हुन् ।

कस्केली गाई पालक तथा दूध उत्पादक किसानहरुले दूधमा कास्की र समग्र गण्डकी प्रदेश आत्मनिर्भर भएको भन्दै चिनिया गाई नल्याउन चेतावनी दिए । उनीहरुले चीनबाट गाई ल्याएर पाल्ने हो भने गण्डकी प्रदेशका ५० हजार गाई पालक किसानको रोजगारी गुम्ने र ब्यबसाय धरापमा पर्ने पनि बताए । उनीहरुले एक स्वरमा भने,‘सरकारले नै कुनै कम्पनीमार्फत गाई ल्याएर पाल्छन् भने हामी स्थानिय किसान कहाँ जाने ? त्यसपछि बेरोजगार भएका हामी के गर्ने ? ।’ बिदेशबाट गाई ल्याएर पाल्ने हो भने हालका किसानले उत्पादन गर्दै आएका दूधको बजार ज्ञारेन्टी गर्नुपर्ने उनीहरुको भनाई छ । साथै उनीहरुले विदेशबाट गाई नभई बिऊ मात्रै ल्याउनसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा दूग्ध उत्पादक किसान सहकारी संघ कास्कीका अध्यक्ष पुण्य पौडेलले उन्नत जातको गाई २०७४ सालदेखी पाल्न थालेपछि कास्कीमा एक वर्षमै १५ हजार ५ सय ६४ लिटर प्रतिदिन दूध उत्पादन बढेको दाबी गरे । उनका अनुसार कास्कीमा २०७४ सालमा दैनिक २३ हजार ५ सय ६५ लिटर दूध उत्पादनमा बृद्धि भएको र २०७५ मा आईपुग्दा यो बढेर प्रति दिन ३९ हजार १ सय २९ लिटर दूध उत्पादन हुने गरेको बताए । यहि हिसाबले जाने हो भने अबको २ वर्षमा कास्की दूधमा आत्मनिर्भर हुने उनको दाबी छ । ३ वर्षमा भने कास्की दूध निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।

कार्यक्रममा बोल्दै किसान महासंघ कास्कीका संयोजक तथा सप्तगण्डकी दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष पून्य पौडेलले चीनबाट गाई ल्याएर दूध उत्पादन गर्ने निर्णय नसच्याए संघर्षको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिए । चीनबाट गाई ल्याएर पाल्ने नीतिले स्थानिय कृषक बिस्थापित हुने भन्दै उनले भने,‘निर्णय सच्याउन प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छौं, आशा छ प्रदेश सरकार गाई पालन नीतिबाट पछि हट्नेछ, अन्यता संघर्षको आँधीबेहरी उठ्ने निश्चित छ ।’ उनले गाई पालक किसान होस् वा दूध उत्पादक किसान कसैसँगपनि छलफल नगरी चीनबाट गाई ल्याउने सम्झौता गरेको भन्दै यो कसैको स्वार्थ पूरा गर्नका लागि हुन लागेको आरोप लगाए । उनले चीनको गुलामी गर्ने रामहरी खड्का समूहले मन्त्रीलाई प्रभावित गरेर चीनबाट गाई ल्याउने निर्णय भएकोसमेत दाबी गरे । किसानलाई संरक्षण गरेर उनीहरुको स्तरोन्नती गर्नुपर्नेमा उल्टै बिस्थापित गर्न खोजेको उनको आरोप छ । उनले किसानलाई दिइने अनुदानसमेत मन्त्री र ब्यूरोक्रेसी निकटकाले मात्रै पाउने गरेको भन्दै यसलाई पनि उत्पादनका आधारमा अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए ।

जानकी एग्रो फार्मका सञ्चालक दीपक तिमिल्सिनाले प्रविधी भित्राउने बहानामा सरकारले किसान बिस्थापित गर्न खोजेको आरोप लगाए । उनले भने,‘पुँजी र प्रविधी भित्राउनु राम्रो कुरा हो, तर प्रविधी भित्राउने बहानामा किसान बिस्थापित गर्न पाईंदैन ।’ यसअघी हल्याण्डबाट ल्याइएका गाईहरु अहिले कहाँ पुगे ? भन्ने प्रश्न गर्दै उनले भने,‘चीनबाट गाई ल्याउँदा किसानलाई के हुन्छ ?, हामी बिस्थापित हुन पुग्छौं, त्यसैले बिदेशी कम्पनी ल्याउन जरुरी छैन ।’ उनले गाई ल्याउनु भन्दा बिऊ र प्रविधी ल्याउने कुरामा भने सहमत हुन सकिने बताए । बिदेशबाट ल्याएको गाई नेपालको वातावरणका कारण बाँच्न नसक्ने दाबीसमेत गरे ।

हिमाल डेरीका अध्यक्ष शिवहरी आचार्यले चीनबाट गाई ल्याएर पालेमा गाई पालक किसान, दूग्ध उत्पादक, दूग्धजन्य उद्योग सबैलाई ध्वस्त पार्ने चेतावनी दिए ।

घाचोक दूग्ध उत्पादक किसान नारायणप्रसाद दवाडीले चीनबाट गाई पालन गर्ने सरकारको नीति किसानबिरुद्धमा रहेको बताए ।

सप्तगण्डकी दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवराज बरालले सरकारले चीनबाट गाई ल्याएर पाल्ने हो भने दूग्ध उत्पादक सहकारीले गाई बेच्दै शेयर फिर्ता गर्नुपर्ने अवस्था आउने बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.