चुदेरबासीलाई पानी खुवाउन रोटरीको सक्रियता

तनहुँ,४ फागुन
रोटरी क्लब अफ दमौलीले व्यास ५ चुदेरबासीलाई पानी खुवाउन सक्रियता देखाएको छ । यसै सिलसिलामा क्लबले शनिवार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानने, रोटरी क्लब अफ हवाइ युएसएका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले पानीको मुहानको स्थलगत अनुगमन तथा गाँउमा खानेपानीको आवश्यकता बारे मुल्याङ्कन गरेको छ ।

अष्ट ज युएसएका अध्यक्ष तथा अष्ट ज अनुसन्धान तथा विकास केन्द्र नेपाल (आरडिसी) का पूर्वअध्यक्ष डा. दुर्गादत्त पौडेलको विशेष पहलमा सो क्षेत्रमा खानेपानीको आवश्यकता बारे अनुसन्धान गरी आवश्यकताको बोध भएमा सो क्षेलमा लिफटिङ प्रणालीद्धारा खानेपानीको प्रोजेक्ट ल्याइने बारे अध्ययन तथा छलफल गर्न टोली गाँउ पुगेको थियो । प्रोजेक्ट लागु भएको खण्डमा गाँउलाई पुग्ने खानेपानी तथा पानीको गुणस्तर मापन गरी गुणस्तरीय पानी उपलब्ध गराइने आरडीसीका अध्यक्ष पुष्प मोक्तानले जानकारी दिए ।

सोही अवसरमा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले खानेपानीकै समस्याका कारण मानिसहरु गाँउ छोड्न बाध्य भएको बताए । २०५८ सालमा सो क्षे त्रमा रेडक्रशको पहलमा खानेपानी योजना ल्याउने सम्बन्धमा छलफल गरिएको भएपनि सफल नभएको स्मरण गर्दै खानेपानीको त्यस क्षेत्रमा आवश्यकता भएको प्रष्ट पारेका थिए । साथै न्यौपानेले रोटरीको पहलमा नगरपालिकाले पनि साथ दिने प्रतिवद्धता व्यक्त गरे । त्यस क्षेत्रमा होमस्टे तथा आर्गनिक तरकारी खेतीको राम्रो सम्भावना भएर पनि पानी अभावका कारण कुनै पनि योजना सफल नभएको न्यौपानेको धारणा थियो ।

६८ घरघुरी मगर जातीको बसोबास रहेको चुदेर क्षेत्रमा अहिले आधा घण्टाको बाटो हिडेर पानी ल्याउनुपर्ने बाध्यता छ । स्थानीय चुदेर पधेरी खोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर थापाले पानीको समस्याकै कारणा ९८ को हाराहारीमा रहेको घरधुरी घटेर ६८ घरधुरी बाकीँ रहेको बताए । पानीकै अभावमा भएको जग्गा जमिनमा तरकारी समेत रोप्न नपाएको उनले गुनासो गरे । सो क्षेत्रका महिलाहरु बिहान ४ बजे देखी आधा घण्टाको बाटो हिडेर पानी लिन कुवाँमा झर्ने गर्छन । स्थानीय विष्णुमाया दर्लामीका अनुसार पिउने, सरसफाइ गर्ने देखी लिएर गाइबस्तुलाई खुवाउने पानीसम्म पनि आधा घण्टाको बाटो बोकेर हिड्नुपर्छ । अहिले गाँउले जहाँ पानीको मुल फुट्छ त्यही ठाँउको पानी ल्याएर गुजारा गर्दै आएका छन् । ढापगाँउ, हाडिगाँउ क्षेत्री गाँउ अहिले पानीको चरम अभावबाट गुज्रिएको छ ।

रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष श्रेष्ठले सो क्षेत्रलाई पुग्ने पानी उपलब्ध गराइ बसाइसराइ रोक्न र कसरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सकिन्छ भन्ने उद्देश्यले खानेपानी उपलब्ध गराउन सक्रियता देखाएको बताए । सो कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारी, रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष लगायत पदाधिकारीहरु तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.