चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग

पुस १३,तनहुँ ।

जाडोमा न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिदै विद्यालय आउन बाध्य तनहुँको व्यास नगरपालिका वडा नं ११ राम्चे स्थित  चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडाहरु सहयोग प्राप्त भएको छ ।
सूर्योदय प्राथमिक विद्यालयका २२ जना बालबालिकालाई जिल्ला बालकल्याण समिति तनहँु र सृजनशील बालविकास कार्यक्रम पोखराले संयुक्त रुपमा सहयोग सामग्री वितरण गरेको हो ।

चेपाङ बालबालिकालाई प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले राहत हस्तान्तरण गर्दै शिक्षाका लागि विद्यालयसँगै र घरपरिवारको वातावरण र अभिभावकको भुमिका महत्वपूर्ण हुने बताए । प्रजिअ शर्माले गरिबीसँगै जुध्दै गरेका चेपाङ बालबालिकालाई सहयोगको लागि अन्य क्षेत्रहरुबाट समेत सहयोगको अनुरोध गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरिक्षक शिद्धिविक्रम शाहले बालबालिकाको भविष्यप्रति सचेत रहन अभिभावकलाई आग्रह गरे ।

बालबालिकाहरुलाई न्यानो कपडासँगै २२ थान झोला र ४६ थान स्टेशनरीका सामग्रीहरु पनि वितरण गरिएको जिल्ला बालकल्याण समितिका अध्यक्ष खड्कबहादुर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा व्यास ११ का वडा सदस्य हेरम्बजंग अधिकारी, सिर्जनशील बाल विकास कार्यक्रम कास्कीका संस्थापक अध्यक्ष शंकर पन्थ, राम्चे वडारे टोल विकास संस्थाका अध्यक्ष गोकुल दुरा, जिल्ला बाल कल्याण समितिका स्टेरिङ्ग कमिटी संयोजक खड्ग वहादुर अधिकारी, समितिका कार्यक्रम अधिकृत सन्तोष गोदार , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

You might also like

Comments are closed.