छाब्दीबाराही जाने मोटरमार्ग ग्राभेल गरिदै, मन्दिर पुग्न वैकल्पिक बाटो

 

तनहुँ, १२ बैशाख

तनहुँको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रे गर्नका लागी ग्राभेलको कार्य भइरहेको छ । छाब्दीमार्ग कालोपत्रेका लागि संघीय, प्रदेश र स्थानीय तीनै सरकारले बजेट विनियोजन गरेपछि पहिलो चरणको काम सुरु भइरहेको हो ।

पहिलो चरणमा संघीय सरकारले बिनियोजन गरेको बजेटबाट काम सुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिए । पहिलो चरण अन्तर्गत सरकारको बजेटमा सो मार्गको ३ किलोमिटर खण्डमा कालोपत्रे गर्न प्रारम्भिक चरणका काम धामाधम भइरहेको उनले बताए ।

ब्यास नगरपालिकाले छाब्दीसम्मको कच्चीसडक कालोपत्रेका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै संघ र प्रदेश सरकारले पनि सो मार्गका लागी १÷१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । पहिलो खण्डमा पक्की कटिङ, ड्रेन, नाला निर्माण र ७सय ९० मिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो ।

यसैगरी नगरपालिकाले विनियोजन गरेको बजेटबाट भड्खालादेखि गौंडा पहराको पूर्वतर्फको उकालोसम्म १ हजार ३सय २० मिटर सडकखण्डमा कालोपत्रेको काम हुनेछ ।  सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले लिएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ ।

छाब्दीसम्म पुग्ने बाटो कालोपत्रेको काम सुरुभएसँगै स्थानीय निकै उत्साहित भएका छन् । कतिपय अवस्थामा ठुला गाडी लिएर आउने भक्तजनहरुलाई समस्या हुने गरेकोमा अब त्यो समस्या अन्त्य हुने छाब्दीबाराही विकास समितिका अध्यक्ष थामबहादुर थापाले बताए ।

बाटोको समस्याको कारणले पनि मन्दिरमा अपेक्षित भक्तजनहरु नआएको गुनासो गर्दै विकास कोषका अध्यक्ष थापाले बाटो बनेपछि भक्तजनको आगमन बढ्ने र व्यापार व्यवसाय समेत बढ्ने विश्वास व्यक्त गरे । तर उनले सडक कालोपत्रे हुने भएपनि गुणस्तरीय हुदैन कि भन्ने चिन्ता व्यक्त गरे । सो मार्गमा ४० फुट सडक कायम गरिएपनि सबै ठाँउमा समान नियम कायम हुन नसकेको उनले गुनासो गरे ।

मन्दिरसम्म पुग्ने बाटो निर्माणको क्रममा अवरुद्ध हुने अवस्था आएपछि व्यास नगरपालिका वडा नम्बर १३ ले छाब्दीबाराही जाने मोटरमार्गको वैकल्पिक बाटो बनाएको छ । नगरपालिका संग समन्वय गरेर भड्खलादेखि सैंसतीसम्म २.४ किलोमिटर वैकल्पिक बाटो बनाइएको छ ।

टाढा–टाढाबाट मन्दिर आउने भक्तजनहरुलाई सास्ती नहोस् र त्यही रुटमा चल्ने स्थानिय यातायातलाई अवरुद्ध हुन नदिन वैकल्पिक बाटो बनाइएको वडा अध्यक्ष लेखबहादुर रानाले बताए ।

You might also like

Comments are closed.