काठमाडौं । २०७४ देखि रोक्का रहेको जग्गाको कित्ताकाट सरकारले खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेकी हुन् । बिगतमा भएका सबै निर्णय खारेज गर्दै भू–उपयोग ऐन २०७६ र प्रचलित कानून अनुसार जग्गाको कित्ताकाट गर्न सकिने निर्णयमा सरकार पुगेको हो ।
‘कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्शा÷डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी हाललाई भू–उपयोग ऐन, २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभाग मार्फत मातहत कार्यालयहरुमा निर्देशन दिइएको छ ।
जग्गाको कित्ताकाट रोकिदा जग्गा व्यवसायमा ह्रास आएको थियो । जग्गाको कित्ताकाट खुल्ला भएपछि जग्गा व्यवसायीहरु भने आशावादी बनेका छन् । उनीहरुले सरकारको निर्णयको स्वागत गरेका छन् ।
सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताउँछन् नेपाल जग्गा तथा आवास विकास संघका निबर्तमान अध्यक्ष इच्छाराज तामाङ । ‘पहिला बिना तयारी जग्गाको कित्ताकाट रोकिएको थियो,’ उनले भने, ‘अहिले आएर कित्ताकाट खुल्ला गर्ने निर्णय भएको छ । यो निर्णय स्वागतयोग्य छ ।’ कित्ताकाट रोकिदा व्यवसायीहरु र जग्गा बेच्न चाहने जग्गाधनीहरु दुवै मर्कामा परेको बताउँदै उनले सरकारको निर्णयले दुवैलाई राहत हुने धारणा राखे । कित्ताकाट खुल्दैमा कृषियोग्य जग्गा खण्डीकरण हुन्छ भन्नु गलत मान्यता रहेको उनले भनाइ छ ।
व्यवसायीहरुको माग अनुसार जग्गाको कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णय सकारात्मक रहेको गण्डकी जग्गा तथा आवास विकास संघका पूर्व अध्यक्ष अर्जुन पोखरेल बताउँछन् । ‘जग्गाको कित्ताकाट खुल्ला गर्नुपर्छ भन्ने हामीले माग गर्दै आइरहेका थियौं,’ उनले भने, ‘खेतीयोग्य जमिन मास्नुपर्छ भन्ने हाम्रो मान्यता होइन । कित्ताकाट रोकिएपनि अबैध रुपमा जग्गा खण्डीकरण भइरहेको थियो । अब यसलाई व्यवस्थित बनाउनुपर्छ ।’ दर्तावाला व्यवसायीले मात्रै जग्गाको व्यवसाय गर्न पाउनुपर्ने व्यवसायीहरुको माग छ ।
Comments are closed.