जग्गादाता र स्थानियको माग : ट्राफिक कार्यालय रहेको जग्गामा पार्क, सूचना केन्द्र र टिकट काउन्टर बनाऊ

 

पोखरा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की रहेको जग्गामा टिकट काउन्टर लगायत बनाउन जग्गादाता तथा स्थानियले माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको साविक ट्राफिक कार्यालय नयाँबजार सर्ने भएपछि तत्कालिन जग्गादाताका परिवार तथा स्थानियले सो कार्यालय रहेको जग्गामा पार्क, पर्यटन सूचना केन्द्र र टिकट काउन्टर बनाउन माग गरेका हुन् । २०३२ सालमा टिकट काउन्टर बनाउने उद्धेश्यले जग्गा अधिकरण गरिएकाले सोहि उद्धेश्यका लागि जग्गा प्रयोग हुनुपर्ने उनीहरुको माग छ । स्थानिय तथा जग्गादाताहरुको तर्फबाट तेजबहादुर गुरुङले शनिबार नै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष लामिछानेले स्थानिय माग जायज भएकाले माग पूरा गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

साविक ट्राफिक कार्यालय रहेको जग्गामा पार्क, सूचना केन्द्र र टिकट काउन्टर बनाउनका लागि पहल गर्न पोखरा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशबबहादुर थापाको संयोजकत्वमा एक समितिपनि बनाइएको छ । सो समितिको सल्लाहकारमा सहारा क्लव पोखरा, हिमाली सांस्कृतिक परिवार, सामुदायिक सेवा केन्द्र पृथ्वीचोक, नेपाल मजदुर यातायात संगठन, जिफान, नेपाल ट्रेड युनियन, पृथ्वीचोक होटल व्यवसायी समिति, गण्डकी पेट्रोलियम प्रालिसहित जग्गा दाताहरु रहेका छन् ।

तत्कालिन पोखरा उपत्यका नगर विकास समितिले सो जग्गा टिकट काउन्टर बनाउने उद्धेश्यले २०३२ सालमा अधिग्रहण गरेको थियो । करीब १ रोपनी क्षेत्रफल रहेको सो जग्गा गण्डकी पेट्रोलियम प्रालि, स्व.हरिप्रसाद रञ्जित र गोपाल तझ्याले निःशुल्क दान गरेका हुन् । शुरुमा टिकट काउन्टरका रुपमा नै प्रयोग गरिएपनि २०६२÷६३ सालताका टिकट काउन्टर हटाएर ट्राफिक प्रहरी कार्यालय स्थानान्तरण गरिएको थियो ।

पछिल्लो क्रममा ट्राफिक कार्यालय साँघुरो र भवन चुहिने भएपछि नयाबजारस्थित माछापुच्छ«े बैंक अगाडि जनस्तरबाट निर्माण गरिदैछ । विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन गरेर बनाइएको सो भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दशैं आसपासमा ट्राफिक कार्यालय नया भवनमा सार्ने तयारी गरिएको छ ।

ट्राफिक कार्यालय सरेपछि अन्य प्रयोजनका लागि प्रयोग हुन्छ कि भन्ने शंका स्थानियले गरेका छन् । जे प्रयोजनका लागि अधिकरण गरिएको हो सोहि कामका लागि जग्गा प्रयोग गर्नुपर्ने भएपनि अन्य प्रयोजनमा प्रयोग हुन्छ कि भनेर आफूहरुले खबरदारी शुरु गरेको बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशबबहादुर थापाले बताए । उनले आफूहरुको माग बिपरित अन्य प्रयोजनका लागि जग्गा प्रयोग भए आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।

जग्गादाता मध्येका एक सुदर्शन रञ्जितले आफ्नो बुबाले टिकट काउन्टर राख्दा देशैभरका नागरिकले सुविधा पाउने आशाले जग्गा दिएपनि अहिले आएर कुनै एक संस्थालाई दिन लागेको आभास मिलेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए । पर्यटन सूचना केन्द्र, टिकट काउन्टर र पार्क बनाएमा सबै नागरिक लाभान्वित हुने भएकाले आफूहरुले दवाब दिन लागेको उनको भनाई छ ।

You might also like

Comments are closed.