जग बसाल्दा परिणाम देखिएन, सरकारले काम गरेन भन्नु अन्याय हुन्छ : मन्त्री विष्ट

आर्थिक आवाज

पोखरा, २८ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वर्तमान सरकारले काम गरेन भनेर भन्नु अन्याय हुने बताएका छन् । प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री विष्टले दिर्घकालिन योजना बनाएर काम गरेको नदेखी तत्काल परिणाम खोज्दै सरकारले काम गरेन भन्दा अन्याय हुने बताए ।

एक सय तले भवन बनाउँदा तला देखिन समय लाग्ने उल्लेख गर्दै उनले भने,‘सय तलाका लागि जगपनि बलियो बनाउनुपर्छ, तर जग नहेरी तला देखिएन भन्दै कामै नभएको भनेर हल्ला गर्नु अन्याय हुन्छ, हो त्यसैगरी सरकारले पनि दिर्घकालिन योजना अन्तर्गत काम गर्दा तत्काल रिजल्ट नदेखिएको हो, तर यसैलाई आधार मानेर सरकारले कामै गरेन भन्नु अन्याय हुन्छ ।’ परिणाम देखिन केहि समय लाग्ने बताउँदै उनले थपे,‘काम भइरहेको छ तर जनताले अनुभूत गर्न केहि समय लाग्न सक्छ ।’ उनले सरकार बिरोधीहरुले भएका कामलाई पनि छायाँमा पारेर कामै भएन भनेर हल्ला गरिरहेको आरोप लगाए ।

मन्त्री विष्टले देश अहिलेपनि संक्रमण कालमै रहेको बताए । विकास र समृद्धिको आधार तयार गर्न प्रणाली स्थापना गर्नुपर्ने र देश त्यसैको संक्रमणकालमा रहेको उनको भनाई थियो । उनले वर्तमान सरकार देशमा प्रणाली स्थापना गर्नका लागि कम्मर कसेर लागेको भन्दै वर्तमान सरकारले स्थिर, सुशासन, पारदर्शिता र प्रणाली स्थापना गर्दै अगाडि बढिरहेको उल्लेख गरे ।

मन्त्री विष्टले संविधानले निर्दिष्ट गरेको नागरिकको खाद्य, शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायतको अधिकारको ज्ञारेन्टी गर्न लागिपरेको बताए । त्यसका लागि सरकारले देशमा भएका श्रोत र साधनको समुचित सदुपयोग गर्दै युवालाई स्वदेशमै रोजगारी सृजना गरी देशलाइ आत्मनिर्भर बनाउने दिशामा अघि बढेको बताए ।

मन्त्री विष्टले एक वर्षमा केहि लाख नागरिकलाई रोजगारी दिलाईने दाबी गरे । रोजगार ऐन र रोजगार नियमावली पारित भइसकेको बताउँदै अब सरकारले देशका ७५३ वटै स्थानिय तहमा रोजगार केन्द्र स्थापना गरेर केहि लाख नागरिकलाई रोजगारी दिने उनको भनाई थियो । उनले एक हप्ता भित्रमा रोजगार संयोजक नियुक्त गरिसक्ने भन्दै त्यसपछि बेरोजगारहरुको विवरण संकलन शुरु हुने बताए । मन्त्री विष्टले श्रम बजार र श्रम शक्तिलाई प्रणालीमार्फत जोड्न लागेको बताउँदै भने,‘रोजगार दाता र रोजगारी चाहने दुबैले वेवसाइट हेरेर दुई पक्षबीच जोडिनसक्ने गरी प्रणाली विकास गरिन्छ र यसले धेरै हदसम्म रोजगारीको समस्या हल गर्छ ।’ प्रेस संगठन कास्कीका नेता माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देश श्रेष्ठले स्वागत र घनश्याम पाण्डेले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.