जननिर्वाचित संसद्लाई खबरदारी गर्न सिंहदरबारभित्रै पूर्वसांसदहरूको एनजिओ

काठमाडौं । जननिर्वााचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।

पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर २ को तेस्रो तलामा परिषद्को बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद् संयोजक अनन्तप्रसाद पौडेलले बताए ।

पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषद्को सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् ।

३५ सदस्यीय तदर्थ समिति गठन भएको परिषद्मा संविधानसभा हुँदा संलग्न सबै राजनीतिक दललाई समावेश गरिएको संयोजक पौडेलले बताए । परिषद्ले आगामी ३ साउनमा राष्ट्रिय भेला गर्दै छ । पहिलो र दोस्रो संविधानसभाका कुल एक हजार एक सय नौ सभासद्मध्ये निधन भइसकेका २६ बाहेक सबैलाई भेलामा बोलाइने संयोजक पौडेलले बताए । आजीवन सदस्यताका लागि प्रतिव्यक्ति दुई हजार छुट्याइएको र त्यसैबाट ३ साउनमा हुने राष्ट्रिय भेलालगायतका लागि खर्च गर्ने उनको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

You might also like

Comments are closed.