सन्देश श्रेष्ठ
पोखरा, २३ पुस
पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।
महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरित बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालसालै ढलान गरेको एक तले घरको पिलरसहित घरको संरचना भत्काएको हो । डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई रोक्ने भरमग्दुर प्रयास गरेकी थिईन् । उनले डोजरको बकेटमासमेत बसेर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेपनि उनको प्रयास सफल भएन । आफूलाई मारेर लासमाथीबाट डोजर चलाउन चेतावनी दिएकी उनलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।
भत्काइएको घर सार्वजनिक जग्गा हो भने फिर्के खोलाको मापदण्ड बिपरित पनि छ । सो घरले नेपाल स्काउटको केहि अंश जग्गापनि हडपेको बताइन्छ । नेपाल स्काउटको जिल्ला कार्यालयले आफ्नो जग्गा मिचिएको भन्दै वडा कार्यालय, महानगरपालिका र अख्तियारमासमेत निवेदन दिएको बुझिएको छ ।
विष्णुलाई मापदण्ड बिपरित पटक÷पटक घर नबनाउन सचेत गराउँदापनि अटेर गरी बनाएकाले घर भत्काएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले बताए । उनले भने,‘मापदण्ड बिपरित घर नबनाउनुस् भनेर महानगरपालिकाले पटक÷पटक सचेत गराएकै हो, चिठीसमेत लेखेर घर निर्माण कार्य रोक्न भनेकै हो, जग निर्माण गर्दादेखी सचेत गराउँदै आएको महानगरले घरमा ढलान नगर्न चेतावनीसमेत दिएपनि अटेर गरी बनाएकाले घर भत्काइएको हो ।’
तर परियारले भने महानगरपालिकाका प्रमुख जिसी र वडाध्यक्ष शंकरप्रसाद बास्तोलासँग सल्लाह गरेरै घर बनाएको दाबी गरिन् । उनले भनिन्,‘मैले पटकपटक मेयर र वडाध्यक्षलाई जानकारी गराएरै घर बनाएकी हुँ, अहिले कसको कुरा सुनेर घर भत्काएका हुन् ? मैले बुझ्न सकिन ।’ घर निर्माणमा करीब ९ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिईन् । उनले नमूना महिला समूहबाट १५ लाख रुपैयाँ ऋण लिएर घर बनाउन शुरु गरेको छिमेकी जमुना देवका कोइरालाले बताईन् ।
त्यस्तै महानगरपालिकाले सोमबारै पोखरा ५ धारापानीमा रहेको भरत लिगलको अवैध घर पनि भत्काएको छ । पर्ती जग्गामा महानगरपालिकाबाट अनुमति नलिई बनाएकाले घर भत्काएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । ३० वर्षदेखी भोगचलन गर्दै आएको दाबी गरेपनि लालपूर्जा नभएको ठाउँमा जबरजस्ती घर बनाएकाले डोजर लगाउनुपरेको उनको भनाई छ ।
यसैगरी महानगरपालिकाले सोमबारै पोखरा ५ बुलौंदी खोलाको मापदण्ड बिपरित घर बनाएपछि जमुना क्षेत्रीको घरपनि भत्काएको छ । लालपूर्जा भएको जग्गा हुँदाहुँदै पर्ती जग्गा हडपेर घर बनाएकाले डोजर लगाएर भत्काएको वडाध्यक्ष नेपालीले बताए ।
यसैबीच, पोखरा ५ सिमाना मार्गमा मापदण्ड बिपरित बनेको बासुदेव आचार्यको घर आफैले भत्काउन थालेपछि महानगरपालिकाले डोजर नलगाएको वडाध्यक्ष नेपालीले जानकारी दिए । उनले सिमाना मार्गमा पर्ने बासुदेव आचार्य, रामचन्द्र भण्डारी र शान्त बतासको मापदण्ड बिपरित रहेको घर तथा टहरापनि भत्काउन जाँदा आफैले भत्काउने प्रतिबद्धता जनाएकाले डोजर नलगाई फर्किएको जानकारी दिए ।
Comments are closed.