जानकी आधारभूत विद्यालय माविमा परिणत

पोखरा, ९ बैशाख
पोखरा महानगरपालिाका वडा नं.१७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा माविमा परिणत भएको छ । २०३५ सालमा स्थापित विद्यालय स्थापनाको चार दशकपछि पहिलो पटक यसै शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन सुरु गरेको हो ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच वडाअध्यक्ष तिर्थ अधिकारीले मावि तहको कक्षा शुभारम्भ गरे । साथै मावि तह सञ्चालनमा वडाका तर्पmवाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।  विद्यालयका प्रधानाध्यापक गोपाल पौडेलले कक्षा आठ उत्तिर्ण गरि नौ कक्षाका लागि अन्य विद्यालय खोज्नुपर्ने बाध्ययताबाट सो क्षेत्रका विद्यार्थी मुक्त भएको धारणा राखेका थिए ।

विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारीले विद्यार्थी तथा अभिभावको मन जित्ने गरि गुणस्तरीय दिनुपर्नेमा जोड दिए ।  यस क्षेत्रको आवश्यकतालाई महसुस गरि मावि तह सञ्चालन गरिएपनि आर्थिक श्रोतका साथै दरवन्दीको अभावमा यसको निरन्तरता सहज नभएको बताउँदै उनले यसका लागि सम्वन्धित निकायको साथ र सहयोग आवश्यक भएको बताए ।

कक्षा आठबाट उत्तीर्ण भएका विद्यार्थीहरु अंकित गुरुङ र सन्तोसी विकले वाल्यकालदेखि पढदै आएको विद्यालयमा मावि तह सञ्चालन हुनुले आफुहरु निकै हर्षित भएको बताए ।
२ सय जना विद्यार्थी रहेको विद्यालयमा कक्षा ९मा २५ जना विद्यार्थी भर्ना भई आजैबाट पठनपाठन शुरु भएको जनाइएकोछ । विद्यार्थी संख्याको अभावमा कतिपय सामुदायिक विद्यालयहरु गाभिने क्रम बढेका वर्तमान अवस्थामा विद्यार्थी तथा अभिभावकको माग बमोजिम आधारभूतबाट मावि तह सञ्चालन हुनुलाई महत्वका साथ हेरिएकोछ ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधीका योगी, सल्लाहकार गंगा पोख्रेल र ओम पौडेल, शिक्षा अभिभावक संघका अध्यक्ष प्रेम थापा र शिक्षक तुल्सी गिरी लगायतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक एवम् विद्यार्थीको सामूहिक प्रयासको आवश्यकता औल्याउनुभयो ।  विद्यालयमा हाल कार्यालय, कम्प्यूटर, पुस्तकालय र सभाहल सहित १४ वटा कोठा तथा खानेपानी एवम् आवश्यक शौचालय रहेका छन् ।

You might also like

Comments are closed.