जापानबाट कामना खनालले गरिन् मानव सेवा आश्रमलाई आर्थिक सहयोग

पोखरा ।

तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखी जापानको चिबामा बस्दै आएकी कामना खनालले मानव सेवा आश्रमलाई नगद सहयोग गरेकी छन् ।

पोखरा–१७ छोरेपाटनस्थित आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि खनालले पठाएको रु १० हजार ३१ आज गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् ।

कोभिड–१९ को विश्वव्यापी सङ्कटका कारणबाट अप्ठ्यारो अवस्थामा रहेकाहरुका लागि खनालले रु २० हजार ३१ सहयोग रकम पठाएकी थिइन् ।

खनालले उपलव्ध गराएको सो रकम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका सचिवालय सदस्य त्रिभुवन पौडेलको समन्वयमा मानव सेवा आश्रमलाई प्रदान गरिएको हो ।

बाँकी रकम बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण वितरण गरिने पौडेलले जानकारी दिए ।

मानव सेवा आश्रमले असहाय बालबालिका, युवा तथा बृद्दबृद्दाहरुलाई निःशुल्क खाना र बस्नको ब्यबस्था गर्दै आएको छ । सो आश्रममा हाल ११७ जनाले आश्रय लिएका छन् ।

आमा सीमा र बुवा लेखनाथ खनालकी छोरी कामनाले आफुले बैदेशिक रोजगारी गरेर कमाएको पैसा कोरोना महामारीको बेला असहाय जनता र स्वास्थ्यकर्मीलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

You might also like

Comments are closed.