आर्थिक आवाज
पोखरा, २२ माघ । पोखरामा जापानीज भाषा परीक्षा हुने भएको छ । मोग सर्भिस प्रालिको आयोजनामा अनलाइनबाट परीक्षा लिइनेछ । फरवरी ९ अर्थात फागुन २६ गते शनिबार परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन चाहनेहरुले फरवरी ७ अर्थात माघ २४ गते बिहीबारसम्ममा नाम दर्ता गर्नुपर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतीले जानकारी दिए ।
पोखरामा पहिलो पटक अनलाइनबाट जापानीज भाषा परीक्षा ‘पिजेसी ब्रिज टेष्ट’ हुन लागेको हो । इन्टरनेशनल कलेज एप्लाइज साइन्स अनुपम मार्गमा परीक्षा हुनेछ । परीक्षा शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अनलाइन टेष्टको रिजल्ट २४ घन्टा भित्र आउने प्रजापतीले जानकारी दिए । ‘अबदेखि प्रत्येक महिना जापानीज भाषाको अनलाइन टेष्ट पोखरामा हुनेछ,’ उनले भने ।
परीक्षामा सहभागी हुन चाहनेहरुले नाम दर्ताका लागि नेपाल भाषा संघ (लान)मा सम्पर्क गर्न सकिने लानका अध्यक्ष युवराज खनालले जानकारी दिए ।

प्रालिले नेपालमै पहिलोपटक जापानिज भाषा परीक्षा अनलाइनबाट दिन पाउने व्यवस्था गरेको हो । अहिलेसम्म जापानिज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएको थियो । ‘परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘कागजबाट दिइने परीक्षाको नतिजा आउन समय लाग्ने भएकाले अनलाइन परीक्षा प्रभावकारी हुनेछ ।’
विद्यार्थी तथा अन्य सेवाग्राहीलाई सजिलो र छिटो छरितो होस् भनेर मोग सर्भिस प्रालिले जापानको एनएसजी ग्रुपद्वारा सञ्चालित सर्टिफाई इन्कसँगको सहकार्यमा प्राक्टिकल जापानिज कम्युनिकेसन (पिजेसी ब्रिज) परीक्षा सुरु गरिएको प्रजापतीले जानकारी दिए । ‘अब परीक्षार्थीले परीक्षा सकिने वित्तिकै आफ्नो नतिजा थाहा पाउन सक्नेछन् भने दस दिनमै प्रमाणपत्र पाउनेछन्,’ उनले भने ।
जापानको अध्यागमन विभागले मान्यता दिएको यो परीक्षामा परिक्षार्थीले प्रत्येक हप्ता परीक्षा दिन पाउनेछन् । जापानिज भाषा परीक्षामा प्रयोग हुने ‘एनफाइभ’ देखि ‘एनथ्रि’ लेभलसम्मको जाँच एकैपटकमा गर्न सकिने बताइएको छ ।
सन् १९७६ स्थापना भएको एनएसजी ग्रुपले परीक्षा सञ्चालन गर्ने सर्टिभाई इन्क सहित तीनवटा विश्वविद्यालय र तीसवटा कलेज सञ्चालन गरेको छ । सर्टिफाई इन्कले १९८३ देखि अहिलेसम्म तीस लाख परीक्षा सञ्चालन गरिसकेको इन्कका डाइरेक्टर मासाको किमुराले जानकारी दिए । पिजेसी परीक्षा सन् २०१३ बाट सुरु गरेको सर्टिफाई इन्कले २०१५ बाट पिजेसी ब्रिज परीक्षा सञ्चालन गर्न सुरु गरेको हो । हाल सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परीक्षा लिदै आएको छ ।
Comments are closed.