पोखरा ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा अनलाइन माध्यमबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जिम्मेवार र जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने बताए ।
प्रेस स्वतन्त्रतामा कहीँ कतैबाट आक्रमण हुन्छ भने त्यसको विरुद्ध प्रतिरोध गर्दै आएको पनि उनले बताए । कानुनी रुपमा पनि प्रेस स्वतन्त्रता खुम्च्याउन सक्ने अवस्था भएकाले स्वतन्त्रतामा अंकुस लागेमा चनाखो भएर संघर्ष गर्नुपने उनको जोड छ ।
महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकार सरकारको स्थायी प्रतिपक्षको रुपमा रहने बताए । सरकार तथा समाजले गरेका नराम्रा काममा खवरदारी गर्नुपर्ने उनको भनाई छ । आफूले गरेको पत्रकारिता स्वच्छ छ वा छैन भनेर स्वमुल्याङकन गर्नुपर्ने समय आएको उनले बताए ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले सवैले जिम्मेवार भएर पत्रकारिता गर्नुपर्ने बताए । प्रेस स्वतन्त्रतालाई जोगाउन सबै पत्रकार एक भएर लाग्नुपर्नेमा उनको भनाइ छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रेशमैत्री वातावरण सृजना गर्न सम्वन्धित सबैमा आग्रह गरेका छन् । शाखाका सम्पूर्ण पत्रकारहरुको बिमा गर्न लागिएको उनले जानकारी दिए ।
शाखा उपाध्यक्ष बिमला भण्डारीले अन्तरक्रियामा सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा सहभागी पत्रकारले आआफ्नो धारण व्यक्त गरेका थिए ।




Comments are closed.