जिम, फुटसल र जुम्बा सञ्चालन गर्न दिन व्यवसायीको माग

 

पोखरा ।

कस्केली खेल व्यवसायीहरुले जिम, फुटसल, जुम्बालगायतका खेल व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्की, कास्की बडिविल्डिङ एण्ड फिटनेस संघ, फुटसल व्यवसायी संघ र जुम्बा व्यवसायी संघ कास्कीले आइतबार संयुक्त रुपमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाउँदै सामाजिक दुरी कायम गरि जिम, फुटसल, जुम्बालगायतका खेल व्यवसाय सञ्चालन गर्न दिन माग गरेका हुन् । शुरुमा प्रदर्शनसहित कोणसभा गरेका उनीहरुले पछि कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाए ।

खेल व्यवसायीहरुले जिम, फुटसल, जुम्बासहित अन्य सम्पूर्ण खेल व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरे । प्रदर्शनमा सहभागिहरुले सुरक्षा संयन्त्र अप्नाई सिमित व्यक्ति राखी जिम खोल्न पाउँ, व्यायाम मनोरञ्जन मात्र होइन, स्वास्थ्य पद्धती हो, आफ्ना लागि मन्त्री निवासमै जिम बनाउने, हाम्रो जिमचाहिं बन्द गर्ने ?, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, जिमलाई मात्र कार्वाही किन ? व्यायाम गरौं, कोरोना भगाऔंलगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का निवर्तमान सदस्य राजेश गुरुङले कोरोनालाई देखाएर खेल व्यवसाय बन्द गर्नु उचित नहुने बताए । खेल व्यवसायमा धेरै ठूलो लगानी भएकाले यो डुबे राज्यका लागि दुर्भाग्य हुने बताउँदै,‘उनले भने,‘यसमा धेरै स्वरोजगार छन्, कयौंले रोजगारी पाएका छन् यो डुब्दा हामी सबै डुब्छौं ।’ उनले फुटसल, जिम, जुम्बालगायतका खेल व्यवसाय खोल्दा धरपकड गर्ने, थुन्ने गरे सडक आन्दोलन गर्ने चेतावनी दिए । खेल व्यवसायले खेलाडी उत्पादनमासमेत सघाईरहेको बताउँदै उनले यसलाई ब्यबस्थित बनाएर खोल्न दिनुपर्नेमा जोड दिए ।

व्यायाम व्यवसायी संघ कास्कीका अध्यक्ष शंकरमान उदासले सामाजिक दुरी कायम गर्दै मास्क, सेनिटाइजर, ग्लोब्सलगायतका सुरक्षा सामग्री आवश्यक मात्रामा प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए ।

संघका सचिव बलराम सुवेदीले मागलाई बेवास्ता गरी खेल व्यवसाय सञ्चालन गर्न नदिए सडक आन्दोलन गर्ने चेतावनी दिए ।

You might also like

Comments are closed.