जिल्ला ट्राफिक भवन निर्माण अन्तिम चरणमा

आर्थिक आवाज
पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका वडा नं. ९ स्थित सहाराटोेलमा साढे ८ रोपनी जग्गामा भवन निर्माण भइरहेको छ ।

२०७५ असारबाट निर्माण सुरु भएको भवनको ८० प्रतिशत भन्दा काम सम्पन्न भएको भवन निर्माण समितिका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए । ‘साढे २ तलाको भवनमा १३ वटा कोठा तयार हुँदैछन्,’ उनले भने, ‘ट्राफिक भवन निर्माणको सम्पूर्ण काम यही चैत मसान्तभित्रमा सकिनेछ ।’

नागरिकस्तरबाट भवन निर्माण अभियान सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए । ‘पृथ्वीचोकमा रहेको ट्राफिक भवन पुरानो र जिर्ण अवस्थामा रहेकाले नयाँ भवन बनाउन सुरु गरिएको हो,’ उनले भने, ‘पुरानो भवनमा ट्राफिक प्रहरीले धेरै समस्या भोग्नु परेको थियो ।’ नयाँ भवन कार्यालय तथा ब्यारेकमा प्रयोग हुनेछ ।

निर्माणाधीन भवन तयारीका साथै मेस र व्यारेक निर्माणको काम पनि भइरहेको श्रेष्ठले जानकारी दिए । ‘मेस र ब्यारेकको काम पनि चैत भित्रै सकिन्छ,’ श्रेष्ठले भने ।

१ करोड ६० लाख रुपैयाँ अनुमानित लागतमा भवन निर्माण भइरहेको हो । मेस र व्यारेकका लागि ६३ लाख रुपैयाँ बजेट अनुमान छ । भवन निर्माणका लागि पोखराका यातायात व्यवसायीसँग सम्बन्धित संघसंस्था, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको श्रेष्ठले जानकारी दिए । पोखरा महानगरपालिकाले ३० लाख रपैयाँ सहयोग गर्दैछ । जसमध्ये १० लाख रुपैयाँ प्राप्त भइसकेको र बाँकी २० लाख रुपैयाँ चालु आर्थिक वर्षमा उपलब्ध गराउने बताइएको छ । गण्डकी प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको श्रेष्ठले जानकारी दिए । ‘भवन सम्पन्न भएपश्चात ट्राफिक व्यवस्थापन र ट्राफिक सुरक्षा सुदृढ हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

भवन निर्माणका लागि हालसम्म ४० लाख रुपैयाँ संकलन भइसकेको र करिब ६० लाख रुपैयाँको प्रतिबद्धता आएको श्रेष्ठले बताए । ‘बाँकी अपुग रकम संकलनको काम भइरहेको छ,’ उनले भने । नागरिक स्तरबाट उत्साहपूर्ण रुपमा सहयोग प्राप्त गरी भवन निर्माण भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । ‘हामीले आवश्यक समन्वय गरिरहेका छौं,’ उनले भने, ‘भवन निर्माणको सम्पूर्ण काम निर्माण समिति अन्तर्गत जनस्तरबाट भइरहेको छ ।’

You might also like

Comments are closed.