जिल्ला र स्थानिय संयन्त्रलाई एकता सन्देश प्रवाह कार्यक्रम गर्न नेकपा गण्डकी प्रदेशको निर्देशन

 

सन्देश श्रेष्ठ
पोखरा, १८ असोज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले गण्डकी प्रदेशमा रहेका जिल्ला, महानगरपालिका, नगरपालिका र गाउँपालिकामा तत्काल नियमित पार्टी काम सञ्चालन गर्न संयन्त्र गठन गरेको छ । जिल्ला संयन्त्रमा तत्कालिन एमालेबाट जिल्ला ईञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट ईञ्चार्ज, सह ईञ्चार्ज र संयोजक सहित ५÷५ गरी १० सदस्य रहने नेकपा गण्डकी प्रदेशले पोखरामा विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेकपा गण्डकी प्रदेशले आफू मातहतका सम्पूर्ण संयन्त्रहरुलाई पार्टी एकता सन्देश प्रवाह कार्यक्रम गर्न निर्देशन पनि दिएको छ । प्रदेशको मंगलबार बसेको बैठकले नेपालीको महान चाड बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा जिल्ला तथा स्थानिय संयन्त्रहरुलाई शुभकामना आदानप्रदानसहित पार्टी एकता सन्देश प्रवाह कार्यक्रम गर्न निर्देशन दिएको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे उत्तमले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ईञ्चार्ज र हितराज पाण्डे अध्यक्ष रहेको नेकपा गण्डकी प्रदेश कमिटीले यस्तो निर्देशन दिएको पत्रकार सम्मेलनमा जानकारी दिईयोे । प्रदेश कमिटीमा खगराज अधिकारी सह ईञ्चार्ज र सचिवमा गोविन्द नेपाली रहेका छन् ।

नेकपा गण्डकी प्रदेशले कार्तिकको दोश्रो साता भित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । त्यस्तै गण्डकी प्रदेशको भुगोलमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुको भेला असोज १९ गते शुक्रबार जिल्ला पार्टी कार्यालय शान्तिवनमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले असोज २७ गतेभित्र प्रदेश कमिटीसँग समन्वय गरी जिल्ला संयन्त्रको बैठक राख्न जिल्ला कमिटीहरुलाई निर्देशन पनि दिएको छ ।

नेकपा गण्डकी प्रदेशले पार्टी एकताको मूल मर्मलाई आत्मसाथ गर्दै गण्डकी प्रदेशमा पार्टीलाई सांगठनिक र राजनीतिक रुपमा सुदृढ बनाउने संकल्प गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लाग्ने बताए । उनले पार्टीका बरिष्ठ नेताको अभिव्यक्तिका कारण पार्टीको प्रतिष्ठामा गम्भीर असर पुगेको बताए । बरिष्ठ नेता भनेर उच्चारण गरेपनि नाम उल्लेख नगरी उनले ति नेताको अभिव्यक्तिले पार्टीमा निराशा छाएको उल्लेख गरे । उनले ति बरिष्ठ नेताले नेकपाको विधान भन्दापनि तत्कालिन एमालेको विधान हेरेर बोल्नेगरेको भन्दै नयाँ अवस्थामा नयाँ तरिकाले जान नेताहरुलाई आग्रह गरे ।

सह ईञ्चार्ज खगराज अधिकारीले विगतका त्रुटी सच्याउँदै अगाडि बढ्ने बताए । प्राविधिक त्रुटीका कारण गएको चुनावमा केहि सिट गुमाएको भन्दै उनले भने,‘हामी अब अघिल्लो चुनावमा प्राविधिक रुपमा गुमाएका सिट फिर्ता गर्नेगरी लाग्छौं र नतिजा पनि निकाल्ने प्रण गर्छौं ।’

नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तमले जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि संघीय, प्रदेश र स्थानिय तीनवटै सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताए । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न प्रतिपक्षसँग पनि साझा सहमति खोज्दै अघि बढ्ने उनको भनाई छ ।

You might also like

Comments are closed.